रोहिणी र डुडुवाका कारण कोहलपुरका पाँचवटा वडा प्रभावित

५ श्रावण २०७७, सोमबार १८:५५
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको रोहिणी खोला र डुडुवा खोलामा आएको बाढीले कटान गर्दा कोहलपुर नगरपालिकाको पाँच वटा वडा प्रभावित भएका छन् । सो बाढीका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टार लगायतका गाउ प्रभावित भएका हुन् ।

कोहलपुर नगरपालिकामा रहेका ती दुई खोलाले वडा नं. ७, ८, १०, ११, १२ र १३ गरी पाँच वडा वडालाई प्रत्यक्ष प्रभावित पार्ने गरेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।

उनले खोलाको कटान रोकथामको लागि आवश्यक पहल गरिए पनि खोलाको बहावले धारफेर्दा वर्षेनी ठूलो क्षति हुँदै आएको बताए । उनले मानविय तथा भौतिक क्षति हुन नदिनको लागि सबैको पहलले मात्र संभव हुने भएको उल्लेख गरे ।

डुडुवा र रोहिणी खोलामा तीब्र कटान हुँदा खोलाको छेउमा रहेको बस्ती जोखिममा परेकोले सो बस्तीको बचाउको लागि संघ प्रदेश र स्थानीय तहले हातेमालो गर्दै यी खोलामा तटबन्ध गर्न आवश्यक रहेको उपमेयर सञ्जुकुमारी चौधरीले बताईन । उनले कोहलपुर नगरपालिकाले मात्रै एक्लै नसक्ने भएको कारणले सबैको सहकार्य आवश्यक रहेको बताईन ।

लागतारको वर्षातको कारण खोलामा आएको बाढीको कारणले गर्दा ३ मिटरको चौडाईमा रहेको रोहिणी खोलाको कटानले अहिले बस्ति नै जोखिममा पार्न लागेको जानकीटोलका ७६ वर्षिय शोभाराम ओलीले जानकारी दिए ।


उनले भने–‘ पहिला यसो फड्केर तर्न सकिन्थ्यो हेर्दाहेर्दै नदीको जस्तो आकार पो लियो ।’ उनले आफ्नो घर खोलाको डिलमा रहेकोले घरै जोखिममा पर्न लागेकोले चिन्ता बढेको बताए ।

अर्का स्थानीय खेमराज शर्माले आफ्नो खेतबारी बगाउदै घरतिर खोला सोझिएको बताए । उनले खोलाको कटानबाट जोगाउनको लागि तत्काल पहल गर्नु आग्रह गरे । सो खोलाले खेतीयोग्य जमिन कटान गर्नुको साथै केही पुलमा समेत असर पुराएको छ ।

यसैबीच रोहणी र डुडुवा खोलाले कटान गर्दै बस्ती जोखिममा पारे पछि जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी, राष्ट्रिय अनुसंधान, कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतितिनिलगायतले प्रभावित स्थानको स्थलगत अवलोकन गरेका
छन् ।

सो अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बस्तिको नजिक भएको कटानलाई रोक्नको लागि जिल्ला बिपद व्यवस्थापन समितिबाट बोरी र जालीको ब्यवस्था गरी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको पहलमा तटबन्ध लगाउन सुरु गरिएको बताए ।

उनले बस्तिलाई जोगाउनको लागि आवश्यक पहल गरिने बताउदै स्थानीयले पनि जोखिमलाई आंकलन गरी सुरक्षित हुन समेत आग्रह गरे ।

Next Post

कोहलपुरको जानकी टोल जोगाउन यसरी गरियो पहल (फोटो कथा)

५ श्रावण २०७७, सोमबार १८:५५
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोेहलपुर चपरगौरी रोहणी खोलामा आएको बाढीले कटान गर्दै बस्ती जोखिममा पारेपछि जोगाउनको लागि प्रयास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको पहलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयलगायतको सहभागितामा जानकी टोल नजिकै रोहिणी खोलामा तटबन्ध गरिएको हो । बस्ती जोखिममा परेको जनाकारी आएपछि […]