सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका छाडा पशुचौपायाहरुलाई पुनः कान्जीहाउस पुर्याउने शुरुवात गरिएको छ । आ–आफ्नो पशुचौपाया घरमा राख्न पशुधनीहरुलाई सार्वजनिक अपील गर्दासमेत बेवास्ता गरेपछि कान्जीहाउस पुर्याउन थालिएको हो ।
छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम उच्च रहेकोले कान्जीहाउस पुर्याउन थालिएको नेपालगञ्ज उपमहानगरले जनाएको छ । शनिवार ६९ वटा छाडा पशुचौपायाहरुलाई कान्जीहाउस पुर्याइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालगञ्जका नगर प्रहरीको संयुक्त टोलीले कान्जीहाउस पुर्याएको हो । टोलीले छाडा पशुचौपायाहरुलाई जम्मा पारेर धपाउँदै कान्जीहाउस पुर्याएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
