सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा पनि सलह किरा देखा परेको छ । भारतको श्रावस्ती जिल्लाबाट बाँकेको नरैनापुर हुँदै बुधबार साँझ देखापरेको सलह किरा बिहीबार बाँकेका सबै स्थानीयतहमा फैलिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।
बुधबार रातिदेखि बिहीबार बिहान लाखौंको संख्या सलह देखा परेको उनले बताए । सलह आएपछि भर्खरै किसानले रोपेको धान तथा अन्य तरकारी बाली नष्ट हुने भएकोले किसानलाई थाल ठटाएर, धुवाँ गरेर सलह धपाउन सकिने जानकारी सबै स्थानीय तहमार्फत गराईएको उनले बताए ।
बुधबार साँझ बाँकेको नरैनापुरमा ठूलो झुन्डमा देखा परेको सलह राति नै डुडुवामा पुगेको थियो । बिहानसम्म नेपालगन्ज उपमहानगरपालिका, जानकी, खजुरा, कोहलपुरहुँदै बैजनाथ गाउँपालिकातिर पुगेको हो । स्थानीयले थाल लगायतका भाँडा ठटाउने, खेतमा आगो बालेर धुँवा बनाउने, बाजा बजाउने विधिबाट सलह भगाएका थिए ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले करिव २० लाखको संख्यामा रहेको सलहको झुन्डलाई जिल्लाका विभिन्न स्थानमा स्थानीयले धपाएको बताउदै सलहबाट कतै पनि बालीमा क्षति भएको जानकारी नआएको दाबी गरे ।
यसैबीच भारतको श्रावस्ती जिल्लाबाट नरैनापुरहुँदै बुधबार डुडुवा–१ कुँडुवा गाउँमा आएको सलह नियन्त्रण गर्न गाउँपालिकाले सलह संकलन गरेर ल्याउनेलाई प्रतिकिलो २० रुपैयाँ दिने प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।
बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँका देवबहादुर रावतको परिवारले थाल ठटाएर सलह भगाएको बताए । उनले भने–‘सलह मकैमा बस्नै लागेको थियो । सबै परिवारका सदस्य मिलेर ठटाउँदा ठटाउँदा थालै फुटेछ । सलहको झुन्ड पनि भाग्यो ।’ जीगाउँका खेतबारीमा थाल, कटौरा, फलामको बाँटा ठटाउनेहरुको लर्को नै थियो । त्यहाँका स्थानीयले भाँडा बजाएपछि सलह पश्चिमतिर उडेको थियो ।