आज साउने संक्रान्ति पर्व

१ श्रावण २०७७, बिहीबार १६:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् ।
यो भगवान शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमवार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि आएको छ । श्रावण संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नेभएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ ।
सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ । विशेषत्ः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सुस्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ । यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो ।
हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।


लुतो फाल्ने दिन
श्रावण महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधिक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरु आवतजावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथी कृषी अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्य झै हो ।
यसर्थ गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरुमा चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्याधिक हुन्छ । साउने संक्रान्तिलाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रुपमा पनि लिईन्छ ।
लुतो फाल्ने आआफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ । यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ ।

Next Post

बाँकेमा पनि देखियो सलह, सर्तकता अपानाउन कृषि ज्ञान केन्द्र बाँकेको आग्रह

१ श्रावण २०७७, बिहीबार १६:५९
सदरलाइनडटकम, नेपालगञ्ज  : बाँकेमा पनि सलह किरा देखा परेको छ । भारतको श्रावस्ती जिल्लाबाट बाँकेको नरैनापुर हुँदै बुधबार साँझ देखापरेको सलह किरा बिहीबार बाँकेका सबै स्थानीयतहमा फैलिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए । बुधबार रातिदेखि बिहीबार बिहान लाखौंको संख्या सलह देखा परेको उनले बताए । सलह […]