सिक्टा सिँचाईको नहर परिक्षणको पानीका कारण बाँकेमा ८० प्रतिशत रोपाई सम्पन्न

३० असार २०७७, मंगलवार ०७:५९
 

रुद्र सुवेदी,
नेपालगञ्ज : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनाको नहरमा परिक्षणको लागि छोडिएको पानीको कारण बाँकेका किसानले यो वर्ष चाँडै धान रोप्न पाएका छन् । सिक्टा सिँचाई आयोजनाको पूर्वी र पश्चिमी नहरमा छोडेको पानीको उपयोग गर्दै समयमै धानको बिउ राखेका किसानले असारको अन्तिमसम्म करिव ८० प्रतिशत धान रोपी सकेका छन् ।

बाँकेको ४४ हजार हेक्टर भुमि सिँचाई गर्ने उद्देश्यले २०६३ सालमा नेपाल सरकारले आफ्नै लगानीमा निर्माण सुरु गरेको सो आयोजनाको पश्चिम मुलनहर ४५ किलोमिटर निर्माण पुरा भई ६ वटा शाखा नहर निर्माणको चरणमा छन् भने ५३ किलोमिटर लम्बाईको पूर्वी मूलनहर निर्माणको क्रममा रहेको सिक्टा सिचाई आयोजनाका निर्देशक तथा आयोजना प्रमुख लोकबहादुर थापाले जानकारी दिए ।

उनले भने–‘राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनाले पश्चिम मूलनहरको परिक्षणको लागि नहरमा छोडिएको पानीको उपयोग गर्दै नहर आसपासका किसानले असारमै खेत रोप्न सकका छन् ।’ उनले आयोजनाले मूल नहरमा बैशाखको पहिलो हप्तादेखिनै पानी छोड्दै आएको कारणले नहर आसपासका किसानले नहरको पानीको फाईदा उठाएको बताए ।

उनले राज्यले बाँकेका किसानलाई लक्षित गरी सुरु गरेको आयोजना पूर्णरुपमा सञ्चालनमा आउन अझै केही समय लागेपनि आयोजनाले आफ्नो क्षमता र आवश्यकतालाई मध्य नजर गरी नहरमा पानी चलाउने, शाखा प्रशाखा निर्माण र मर्मतलाई अघि बढाउने नीति लिएको बताए । उनले आकाशे पानीको भर पर्ने किशानले नहरबाट पम्पसेट लगाएर पानी तानेर सिचाई गर्दै खेती गर्दा समय भन्दा अगावै धान रोप्न सकेको दाबी गरे ।

बाँके जानकी गाउपालिका–६ बकसपुरका किसान जयशरा विकले सिक्टा आयोजनाको नहरले बैशाखको दोस्रो सातादेखि नरहमा पानी छाडेको कारण असार मै धान रोप्न पाएको बताईन । उनले भनिन–‘पोहर परार नहरमा पानी आउदैनथ्यो धानको बिउ राख्न पनि आकाशे पानीको भरपर्नु पथ्र्यो तर, अहिले भने अवस्था फेरिएको छ । बैशाखमा नहरले पानी छोडिदियो बिउ राख्यौ अहिले रोपेर सक्कायौ ।’


कोहलपुर अकल घरुवाका किसान चुन्नु थारुले आकाशे पानीको भरपर्दा असारमा मात्रै धानको विउ राखेर साउनमा पानी परेपछि रोपाई गर्ने बाध्यता नहरमा पानी आउनाले टरेको बताए । नहरको पानी पम्पसेटको मद्दतले तानेर रोपाई गर्दै गरेका थारुले नहरबाट सिधै सिँचाई गर्न नपाएपनि नहरको पानीले विउ राख्नुको साथै यसरी नै पानी तानेर रोपाई गर्दा उत्पादन समेत बढ्ने बताउछन् ।

सिक्टा सिंचाईको नहरमा पानी परीक्षणको लागि छोड्दा यस वर्ष बाँकेका किसानलाई फाईदा भएको राष्ट्रिय सिँचाई महासंघ बाँकेका अध्यक्ष सालिक राम डागिले बताए । उनले आकाशे पानीको भर परेर खेती गर्ने बाँकेका किसानको लागि आयोजनाको नहरमा पानी छोडिदिदा बरदान नै साबित भएको दाबी गरे । उनले भने–‘ सिक्टा सिँचाई आयोजना बाँकेको किसान र कृषि क्षेत्रको लागि बरदान सावित हुने छ ।’

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बाँकेमा असारको अन्तिम सातासम्म ८० प्रतिशत धान रोपाई सम्पन्न भएको जानकारी दिए । गत वर्ष असरको अन्तिम सातासम्म मुस्किलले ३० प्रतिशत रोपाई हुने गरेको अवस्थामा अहिले भने सिक्टा नहरको पानीका कारण किसानले समयमै रोपाई गर्न पाएका छन् ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाई आयोजनाले पश्चिमि नहरमा ६ वटा शाखा नहर निर्माणको चरणमा छ भने पूर्वी मूल नहर निर्माणको प्रकृयामै छ । आयोजना सम्पन्न हुँदा बाँकेको कृषि क्षेत्रमा ठूलो कायापलट हुने विश्वास गरिएको छ । राजधानी दैनिकबाट

Next Post

नेपालगञ्ज वडा नंं. ८ को वडा भेला सम्पन्न

३० असार २०७७, मंगलवार ०७:५९
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ को कहरकै बीचमा नेपालगञ्ज उपमहानगरपालिकामा विकास निर्माणका कामका लागि धमाधम योजना छनौट हुन थालेका छन् । विभिन्न वडाहरुले वडा भेलाको आयोजनागरी योजना छनौट गरिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा ८ ले पनि वडा भेलाको आयोजना गरी योजना छनौट गरेको छ । स्थानीय विकास निर्माणदेखि आर्थिक आयआर्जनका […]

सम्बन्धित