नेपालगञ्जका व्यावसायी र बैंक–वित्तिय संस्थाबीच सहुलियतको लागि छलफल

१८ असार २०७७, बिहीबार १७:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले कोभिड–१९ नोवल कोरोना भाइरसको नियन्त्रण गर्न आव्हान गरिएको निरन्तरको लकडाउनका कारण प्रभावित बनेका उद्योगी, व्यवसायीलाई बैंक तथा वित्तिय संस्थाबाट प्रदान हुने सहुलियत प्रभावकारी बनाउन बिहिवार सरोकारवाला निकायसंग छलफल गरेको छ ।

सो छलफलमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिीय संस्थाका प्रबन्धक उद्योगी, व्यवसायी छलफलमा सहभागि रहेका थिए । उद्योगी, व्यवसायीले राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसारको ब्याज सहुलियतको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सामान्य राहत समेत नदिएको भन्दै बैंक तथा वित्तीय संस्थाको आलोचना गर्दै भने,–‘यत्रो महासंकट आयो त्यसले गर्दा उद्योग, व्यवसाय प्रभावित बनेको जग जाहेर नै छ तर, हामी व्यवसायीलाई कुनै राहत दिइएन । उल्टो ब्याज र किस्ता तिर्नको लागि बारम्बार टर्चर गरियो ।’ श्रेष्ठले राहतको प्रभावकारी कार्यान्वयन र थप राहतका लागि राष्ट्र बैंकले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतका पदाधिकारी एवं अन्य उद्योगी, व्यवसायीले तीन महिनाको अवधिमा कुनै पनि उद्योग, व्यवसाय नचलेका कारण ऋण तिर्न सक्ने अवस्था नरहेको दुःखेसो पोखे । उनीहरुले थप सहुलियतका लागि सरकारको ध्यानार्कषण गराउँदै नयाँ मौद्रिक नीतिबाट व्यवसायीका समस्या समाधान हुने अपेक्षा समेत गरेका छन् ।


नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटा लगायत छलफलमा सहभागि अन्य बैंक तथा वित्तीय संस्थाका प्रबन्धकहरुले नियम अनुसारको सहुलियत पाउनेमा ढुक्क हुन आग्रह गरे । थप सहुलियत दिन नीतिगत निर्णय आवश्यक पर्ने बताउँदै निर्देशक सापकोटाले भने,–‘यो केन्द्रीय तहको कुरा भयो, बाँकी हाम्रो तहमा भएका निर्णय कार्यान्वयन हुनेमा म ढुक्क हुन आग्रह गर्छु ।’ सापकोटाले राष्ट्र बैंकका निर्देशन पालना नभएको अवस्था आएको भए आफुलाई खबर गर्न पनि आग्रह गरेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले ब्याजदरमा सहुलियत र अन्य राहतका कार्यक्रमको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने योजना समेत बनाइरहेको महासचिव चिरञ्जीवी ओलीले बताए । सोही योजना अन्र्तगत बैंक तथा वित्तीय संस्थाका प्रमुख र उद्योगी, व्यवसायीबीच छलफल आयोजना गरिएको हो ।

छलफलमा संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, संघका उपाध्यक्ष अमित बस्नेत, उपमहासचिव धर्म अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, बरिष्ठ उद्योगपति कन्हैयाल बैद्य, प्रवक्ता टंकबहादुर धामी, बरिष्ठ सदस्य बसन्त लामिछाने, कार्यसमिति सदस्य टंक शर्मा, सलाउद्धिन जसगढ, भिम रानाभाट, उषा भण्डारी लगायतले बिभिन्न सुझाव दिएका थिए ।

Next Post

बिहीवार थपिए ४७३ कोरोना संक्रमित

१८ असार २०७७, बिहीबार १७:२८
सदरलाइनडटकम, नेपालगञ्ज : बिहीवार देशभर ४७३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा चार हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ […]