सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिकामा ‘फिल द बकेट’ अभियानमार्फत अति विपन्नलाई राहत सामाग्री बितरण गरिएको छ । कोबिड–१९ नोबल कोरोना भाइरसको सत्रंmमणबाट जोगिन आव्हान गरिएको लकडाउनका कारण साँझ बिहानको छाक टार्न कठिन भएकालाई खाद्यान्न सहयोग गरिएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सह–निर्देशक डा. नितेश कुमार कनोडियाको अगुवाईमा ‘फिल द बकेट’ अभियानमार्फत कोरोनाका कारण प्रभावमा रहेका नरैनापुरका ४ सय ३० घरधुरी अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।
‘फिल द बकेट’ अभियानका अभियन्ता डा.कनोडियाले जिल्ला प्रशासन कार्यालय बाँके, नरैनापुर गाउपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सहयोगमा नरैनापुरका विभिन्न वडामा स्थलगत पुगेर अत्यन्त आवश्यक भएकाहरुको पहिचान गरी उनीहरुलाई २० किलो चामल, ३ किलो दाल, ३ किलो चना, १ किलो नून र २ वटा हातधुने साबुन उपलब्ध गराईएको बताए ।
सो समुहले नरैनापुर वडा नं. १ बिर्तामा ४१ घरधुरी, वडा नं. ४ को घोरदौरियामा ९१, दौलतपुरमा २८, वडा नं. ५ को भगवानपुर नयाँबस्तीमा २ सय, मोतीपुरमा १३ र वडा नं. ६ को सोनवर्षामा ५७ घरधुरीलाई राहत वितरण गरेको छ । यस अघि सो समुहले जमुनाह नाका हुँदै नेपाल प्रवेश गर्ने १८ हजार नेपाली गौरीफन्टा नाकाबाट नेपाल आउने १५ हजारलाई तयारी खानाको प्याकेट वितरण गरेको थियो ।
उनले कोरोना संक्रमणको कारण ज्यान गुमाएका नरैनापुर–५ नयाँबस्तीका युवाको परिवारलाई आफ्नो तर्फबाट १ लाख सहयोग गर्ने घोषणा समेत गरेका छन् । उनीहरुको सो अभियानमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज, ईन्सेक, लायन्स क्लव पिएनएलएफ, एफडब्लुएलडिलगायतको सहभागिता रहेको छ ।
नरैनापुर गाउपालिका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाहले नोबल कोरोना भाईरसको संक्रमणको कारण हटस्पट बनेको बाँकेको नरैनापुरमा लकडाउन कै अबधीमा भारतबाट ठूलो संख्यामा मानिसहरु आएपछि उनीहरुको व्यवस्थापनमा कठिन भएको अवस्थामा ‘फिल द बकेट’ अभियानमार्फत अति विपन्नलाई छनौट गरी आएको सहयोगले ठूलो राहत भएको बताए ।
उनले राज्यले नरैनपुरलाई कम्तीमा पनि ३ हजारलाई विषेश राहत पठाउनु पर्ने दिन आएको बताए । लकडाउनको कारण स्थानीयको रोजगारी खोसिएको र उनीहरु दैनिक रोजगारी गरेर मात्र आफ्नो गुजारा चलाउदै आएकोमा अव भने असहज अवस्था आउने खतरा बढेको बताए ।
गाउपालिका अध्यक्ष शाहले नरैनापुरका युवाहरुको रोजगारीको दौरानमा अधिकांश भारतमा रहेको र उनीहरु आफ्नो रोजगारी बन्द भएपछि घर फर्के पछि उनीहरुको व्यवस्थापनमा समेत सबैको सहयोग हुन आवश्यक रहेको बताए ।