सदरलाइनडटकम,
काठमाण्डौ : चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधवारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् ।
उक्त चक्रवातको असर नेपालमा शुक्रवार र शनिवार बढी पर्ने बताइएको छ । नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् । भारतमा बुधवारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अम्फानको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ ।
निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बइबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ । त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तरपूर्वी दिशातर्फ मोडिने सम्भावना छ । यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ ।
देशको खासगरी मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा बदली रही केही ठाउँमा हल्लका वा मध्यम वर्षा भएको छ । दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं. ५ मा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।