प्रदेश पाँचका होटललाई क्वारेन्टाइन बनाउन आग्रह

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ २०, २०७७       | 208 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण होटल व्यवसाय सबभन्दा बढी प्रभावित भएको भन्दै होटल व्यवसायी महासंघ प्रदेश नं. ५ रुपन्देही बुटवलले पाँच बुँदे माग गरेको छ ।
महामारीका कारण देशमा जारी लकडाउनले होटल व्यवसाय धराशायी भएको तर्फ ध्यानाकर्षण गराउँदै महासंघले सम्भव भए लकडाउन अवधीभरको पुरै घरबहाल छुट गर्नुपर्ने नभए ५० प्रतिशत छुट दिन माग गरेको छ ।
बाँकी अवधीको भाडा आपसी सहमतिमा समायोजन गरी व्यवसाय सञ्चालन गर्न महासंघले घरधनी र व्यवसायीहरुमा आग्रह गरेको छ । कोरोना महामारीको अन्त्य हुने अवधी निश्चित नभएकोले लकडाउन खुकुलो पारेर आवश्यक सजगता अपनाई व्यापार व्यवसाय सञ्चालन गर्न दिनुपर्ने होटल व्यवसायी महासंघले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लकडाउनमा पर्यटन क्षेत्रका मजदुरहरुको हकमा आपसी समझदारी अवलम्बन गरी काम गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ । सरकारलाई आवश्यक परे प्रदेश नं. ५ मा रहेका होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने प्रतिबद्धता जनाउँदै महासंघले वैदेशिक रोजगारीबाट आउने नेपालीलाई सम्बन्धित जिल्लाका होटलमा क्वारेन्टाइन बनाएर राख्न अनुरोध गरेको छ ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले सबै क्षेत्र धराशायी भएको भन्दै होटल व्यवसायी महासंघले बैंकको ब्याज र किस्ता, विद्युत, पानी, करलगायतको महशुलमा छुट दिन सरकारसँग माग गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २०, २०७७     6:46:58 PM  |