बाँकेमा कोरोनाको हटस्पट नरैनापुरको स्थलगत अनुगमन

  
  प्रकाशित मितिः बिहिबार, जेष्ठ १५, २०७७       | 588 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोरोनाको ‘हटस्पट’ नरैनापुर क्षेत्रको सरोकारवाला निकायबाट अनुगमन गरिएको छ । १ सय १४ जना संक्रमित र एक जनाको मृत्यु समेत भइसकेको नरैनापुरमा सो क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ सहितको टोली पुगेर त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

सो टोलीले त्यहाको क्वारेन्टाइनको अवस्थाको बारे, आइसोलेसन केन्द्र बनाउन गृहकार्य भइरहेको लक्ष्मणपुर स्वास्थ्य केन्द्रसंगै सीमा क्षेत्रको पनि अनुगमन गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याएसंग व्यवस्थापन गरिरहेको जानकारी गराउँदै तत्काल विजुली उपलब्ध हुन सके क्वारेन्टाइन व्यवस्थापन र आइसोलेसन निर्माण गर्न सहज हुने बताए ।

लक्ष्मणपुर स्वास्थ्य केन्द्रको अवलोकन गरि रहेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई अध्यक्ष शाहले कोरोनासंग जुझिरहेको नरैनापुरको अवस्था सुधार्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

प्रदेश सांसद् नमुनाले कम्तिमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको लक्ष्मणपुरसम्म तत्काल विद्युत पुर्याउन आफू लागि परेको जानकारी गराउँदै निरन्तरको प्रयासपछि काम शुरु भएको बताईन । विद्युत विस्तारको काम गरिरहेको निर्माण कम्पनीका त्रिलोक धितालले अबको १५ दिनभित्र विद्युतीकरणको सबै काम सकिने बताए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले काम गर्ने क्रममा केही अप्ठेरो र बाधा व्यवधान भए तत्काल जानकारी गराए आफूहरुले सहजीकरण गर्ने बताए । अनुगमन पश्चात् प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले नरैनापुरको अवस्था नियन्त्रणमै रहेको दाबी गरे ।

उनले निषेधित क्षेत्रको पालना भइरहेको, पछिल्लो समय संक्रमितहरु नथपिएको र क्वारेन्टाइनमा बस्नेहरु पनि घट्दै गएको बताए । जिल्ला प्रशासनले ‘रेड जोन’ घोषणा गरेर निषेधित क्षेत्र लागू गरेको नरैनापुरमा विस्तारै सुधार देखिँदै गएको उनको भनाई थियो ।

अनुगमनमा भैरव प्रसाद गण राँझाका गणपति प्रमुख सेनानी नकुल थापा, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिरबहादुर ओली, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीका सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी लगायत थिए ।

सो अवसरमा सेनाको फरवार्ड वेशका सेनानी सुरेश कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरिक्षक मान बहादुर विसी र बोर्डर आउट पोष्ट (विओपी) कट्कुइँयाका प्रहरी निरिक्षक गणेश भण्डारीले त्यहाँको सुरक्षा अवस्था, सीमाको निगरानी, निषेधित क्षेत्र घोषणापछिको प्रभावकारिता, क्वारेन्टाइन, क्वारेन्टाइनमा बसेकाहरुको संख्या र संक्रमितहरुका बारेमा विफ्रिङ गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १५, २०७७     7:40:38 PM  |