कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

१५ जेष्ठ २०७७, बिहीबार १४:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीवारसम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । भारतले रेल सेवा खुलाएर परीक्षणनै नगरी नेपालीलाई सीमा क्षेत्रमा ल्याइ छाडिदिन थालेपछि नेपालमा तीन दिनयता संक्रमितको संख्या तीव्र गतिमा बढेको हो ।
देवकोटका अनुसार थपिएका ११४ जना नयाँ संक्रमितमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा २ जना नयाँ संक्रमित रहेका छन् । उनीहरु सप्तरी जिल्लाका रहेका छन् । कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २५ जना संक्रमित भेटिएका छन् । उनीहरु सबै झापाका रहेका छन् । उनीहरु झापाको कचनाकवल गाउँपालिकाका बासिन्दा हुन् । योसँगै झापामा संक्रमितको संख्या ७९ पुगेको छ ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा एकजना संक्रमित भेटिएका छन् । उनी नवलपुरका बासिन्दा हुन् । काठमाण्डौस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा धनुषमा २९ जना, महोत्तरीका १७ जनासहित ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहीँ गरिएको परीक्षणमा रौतहटका तीनजनामा पनि कोरोना पुष्टि भएको छ ।
त्यस्तै सप्तरीका १२ जनमा पनि कोरोना देखिएको छ । त्यसैगरि सर्लाहीका ७ जना र सिरहाका ६ जनामा पनि कोरोना देखिएको छ । दोलखाका दुईजनामा पनि कोरोना देखिएको छ । सोलुखुम्बुका एकजना पुरुषमा पनि कोरोना देखिएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना देखिएको छ । जसमा १३ जना संक्रमित सुर्खेतका रहेका छन् ।
त्यसैगरी दैलेखमा ८ जनामा कोरोना देखिएको छ । बझाङका एकजनामा पनि कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालमा कास्कीमा गरिएको परीक्षणमा स्याङजाका तीनजनामा कोरोना देखिएको छ । सेती अस्पतालमा धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका एकजना र कैलालीका दुईजनामा कोरोना देखिएको छ ।
त्यस्तै हेटौँडाको कीटजन्य प्रयोगशलामा गरिएको परीक्षणमा १ जना संक्रमित भेटिएका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीनजना र बाँकेका एकजनामा कोरोना देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

Next Post

बाँकेमा कोरोनाको हटस्पट नरैनापुरको स्थलगत अनुगमन

१५ जेष्ठ २०७७, बिहीबार १४:५४
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा कोरोनाको ‘हटस्पट’ नरैनापुर क्षेत्रको सरोकारवाला निकायबाट अनुगमन गरिएको छ । १ सय १४ जना संक्रमित र एक जनाको मृत्यु समेत भइसकेको नरैनापुरमा सो क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ सहितको टोली पुगेर त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिएका […]