बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा हुरी, बतास र वर्षा हुने

५ जेष्ठ २०७७, सोमबार १४:२०
 

सदरलाइनडटकम,
काठमाण्डौ : बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलवारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाई छ ।
मौसमविद प्रतिभा मानन्धरले भनिन, ‘यसले असर गर्ने पूर्वी नेपालमा मात्रै हो । मध्य नेपालको छेउँमा अलिकति छुन्छ होला, तर पश्चिममा यसको असर पर्दैन ।’ उनले थपिन, ‘धेरैजसो बंगालको खाडीमा बन्ने चक्रवातले नेपालमा खासै असर पार्दैन, असर परिहाल्यो भने पनि पूर्वी नेपालमा मात्र पार्छ ।’
चक्रवातका कारण मंगलवारबाट विस्तारै पानी पर्न शुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ । विभागले पूर्वसूचना जारी गर्दै भनेको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलवारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २–३ दिनसम्म देशैभरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।’
चक्रवातले जमिनमा छोइसकेपछि काम गर्न छोड्छ । जबसम्म अम्पुनले जमिन छुँदैन, तबसम्म वर्षाको सम्भावना हुने मौसमविदहरु बताउँछन् । ‘अम्पुनले पनि ग्राउन्ड ल्याण्ड गरिसकेपछि विस्तारै प्रभाव हट्छ,’ मौसमविद मानन्धरले भनिन् । हाल अम्पुन भारतको ओडिसा हुँदै १३ किलोमिटर प्रतिघण्टाको दरले उत्तरतर्फ सरिरहेको छ ।
१९ मेसम्म यसको वेग १८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान छ । भारतमा यसले पुर्याउन सक्ने क्षति रोक्नका लागि पश्चिम बंगालमा ७ र ओडिसामा १० वटा विशेष टोली परिचालन गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसबारे छलफल गर्न गृहमन्त्रीसहितको विशेष बैठक आह्वान गरेका छन् । भारतीय मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर एम महापात्राले यस चक्रवातले २० मेमा भारतको तटीय क्षेत्रलाई छुने र भयंकर वर्षा हुने चेतावनी दिएका छन् ।
उनका अनुसार यो अम्पुन चक्रवातका कारण ओडिसा, पश्चिम बंगाल, आसाम र मेघालयमा हुरी बताससँगै भारी वर्षा हुने छ । भारतका अन्य स्थानमा भने यसको असर नपर्ने बताइएको छ ।

Next Post

बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुग्यो

५ जेष्ठ २०७७, सोमबार १४:२०
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा थप ४७ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । बाँकेको नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा सोमवार संक्रमण पाइएको छ । त्यहाँ रहेका २ सय ६३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गरिएको थियो । जसमा ४६ पुरुष र एक महिलामा […]