कोरोना नियन्त्रण गर्न बाँकेका सांसदको संयुक्त पहल

  
  प्रकाशित मितिः सोमवार, बैशाख २२, २०७७       | 210 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना कहरले नेपालगञ्जलाई एकैपटक गाँजेपछि बाँकेका संघीय सांसदहरु एकैठाउँ भएका छन् । आइतवार एकै दिन १५ जना संक्रमित भेटिएपछि कोरोना सर्वसाधारणमा फैलिएको आशंका बढेपछि सांसदहरुले स्वास्थ्यमन्त्रीलाई भेटघाट गरेका हुन् ।
बाँकेका ५ जना सांसदहरुले सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै भेटेर विभिन्न माग गर्दै ध्यानकर्षण गराएको बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज (अथक)ले जानकारी दिए ।
संवैधानिक समितिका सभापति पूर्ण कुमारी सुवेदी, बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इश्तियाक राई, क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकाया, अर्का सांसद सर्वतआरा खानम लागयतले मन्त्री ढकाललाई भेटेका हुन् । त्यसक्रममा स्वास्थ्यमन्त्रीले २५० थान किट पठाउन लगाएको र अन्य सामग्री पठाउने तयारी भइरहेको जानकारी दिएका थिए ।
सांसदहरुले भेटमा मन्त्रीसंग बाँकेमा थप किट पठाउनुका साथै सबै नगरवासीको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउनु पर्ने, थप स्वास्थ्य उपकरण लगायत प्राविधिक टोली पठाउनु पर्ने र तेस्रो चरणका लागि अस्पतालहरु निर्माण गर्नु पर्ने माग गरिएको सांसद राइले जानकारी दिए ।
शुक्रवार नेपालगञ्जमा एक जना ६० वर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएपछि उनको सम्पर्कमा आएकाहरुमध्ये ६० जनाको परिक्षण गर्दा थप १५ जना संक्रमित भेटिएका थिए । त्यससँगै बाँकेमा १६ जना संक्रमित पुगेका छन् ।

प्रकाशित मितिः सोमवार, बैशाख २२, २०७७     4:56:16 PM  |
error: Content is protected !!