बाँकेमा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन पहल गर्दै राहत वितरणमा कडा अनुगमन गरिने

१६ बैशाख २०७७, मंगलवार १८:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  जिल्ला समन्वय समिति बाँकेले जिल्लामा कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री अभाव हुन नदिन पहल तत्काल गर्न माग गरेको छ ।

मंगलबार जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा बसेको उपलब्ध प्रदेश सभा सदस्यसहितको बैठकले जिल्लामा स्वास्थ्य सामग्री अभाव रहेको निश्कर्ष निकाल्दै थप स्वास्थ्य सामग्री माग गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव देखिएकाले सेनिटाईजर, मास्क, पञ्जा, आरडिटी किट, भिटिएम, पिपिईलगायतका अत्याआवश्यक औषधि तथा उपकरण माग गर्ने निर्णय भएको जिल्ला समन्वय आधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

उनले सो बैठकले लकडाउनको कारण प्रभावित भएकालाई विभिन्न पालिकाले उपलब्ध गराएको राहतको अवस्था तथा मापदण्ड पुरा भए नभएको समेत अनुगमन गरी वितरण प्रकृयामा आएको गुनासोलाई सम्बोधन गरी पारदर्शी बनाउन निर्देशन दिने लगायतका विभिन्न ५ वटा निर्णय भएको बताए ।


सो बैठकले किसानको मर्कालाई सम्बोधन गर्नको लागि आग्रह गर्दै उनीहरुको उत्पादनलाई बजारसम्म ल्याउनको लागि सहज परिस्थितिको निर्माण गर्न पनि आग्रह गरेको जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्ति मगरले जानकारी दिए ।

उनले राहत वितरण प्रक्रियालाई थप ब्यवस्थित र पारदर्शी बनाउने र कृषकहरुको उत्पादनलाई सहज रुपमा बजारसाँ पुर्याउन स्थानीय तहसँगको सहकार्यमा आवश्यक ब्यवस्था मिलाउने लगाएत निर्णय भएको बताए ।

बैठकमा प्रदेश सांसद आइपी खरेल, बिजय बहादुर यादव, मोहम्मद याकुब अन्सारी, बाँके प्रजिअ कुमारबहादुर खड्का, नेपाली सेनाका कर्नेल नकुल थापा, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर ओली, सशस्त्र प्रहरी उपरिक्षक दिपक भण्डारी, नेकपा बाँके सचिब अशोक कोइराला, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजङ्ग शाहलगायतको उपस्थिति रहेको बैठकमा उपस्थित सबैले लकडाउनलाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा आ–आफ्नो सुझाव दिएका थिए ।

Next Post

अबैध उत्खननमा प्रयोग भएका जेसिबि, टिप्पर टेक्टर जरिवाना तिरेर छाडियो

१६ बैशाख २०७७, मंगलवार १८:१५
सदरलाइनडटकम, नेपालगञ्ज  :  लकडाउनको मौकाछोपी रापती नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन गर्दै गरेका जेसीबी, टिपर र टेक्टरलाई ३ लाख ८५ हजार जरीवाना गरी छाडिएको छ । सशसत्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँके नेपालगञ्जले राप्ती नदीबाट नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति बाँकेमा बुझाएको […]