२००७ सालको क्रान्ति कमाण्डर तामाङ्गको मृत्यु

७ बैशाख २०७७, आईतवार १८:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : २००७ सालको जाहानिया राणा साशनबिरुद्धको क्रान्तिका कमाण्डर एवं पूर्व प्रहरी उपरीक्षक श्यामबहादुर तामाङको ९० वर्षको उमेरमा गएराती नेपालगन्जको सुर्खेतरोड प्रहरी तालिमकेन्द्र अगाडिको आफ्नै निवासमा निधन भएको छ ।

तामाङको तीन छोरा र दुई छोरी छन् । मृतक तामाङ्गको आइतबार नै बाँकेको सिद्धनिया स्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । यसअघि उनको पार्थिव शरिरलाई नेपाली काँग्रेस बाँकेका सभापित किरण कोईराला, नेपालगन्ज उपमहानगरका उपप्रमुख उमा थापामगरलगायतले पार्टीको झण्डा ओडाएर अन्तिम बिदाई गरेका थिए ।

स्व. तामाङ्गका बारेमा केही जानकारी

स्कुले जीवनदेखिनै क्रान्तिमा लागेका उनी भारतको खरसाङमा पढ्न बस्दा त्यहाँ गणेशमान सिंह, पुष्पलाल श्रेष्ठहरु क्रान्तिको बारेमा कुरा गर्न पुग्ने गरेका थिए । निर्मल लामासँग साथ रहेका तामाङ नेताहरुको कुरा सुन्दासुन्दै क्रान्तिकारी भएका हुन । पछि २००७ सालको क्रान्तिभरी नै जनमुक्ति सेनाका कमाण्डर पुरन सिंह र जीवी याक्थुम्बाको निकट रहेर काम गरेका थिए ।

१६ जुलाई १९४८ सालमा जनमुक्ति सेना गठन हुँदादेखि नै तामाङ सक्रियपूर्वक लागेका थिए । नेपाली कांगे्रसको सन् १९५० सेप्टेम्बर २६ र २७ गते बैरगनियामा भएको महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सर्वोच्च कमाण्डर तोक्दै क्रान्ति गर्ने निर्णय ग¥यो । त्यही निर्णय अनुसार, २००७ साल कात्तिक २६ गते (११ नेभेम्बर १९५०) राती ११ बजे भाइटीकाका दिन जनमुक्ति सेनाले एकैपटक वीरगञ्ज, विराटनगर र भैरहवा आक्रमण गरेको थियो ।


त्यो फौजी आक्रमणमा तामाङ शुरुमा वीरगञ्ज खटिएका थिए । त्यतिबेला वीरगञ्ज सामरिक महत्वकै शहरमा गनिन्थ्यो । सुवर्ण शमशेरका भान्जा थीरबम मल्लको एउटा टोली र तामाङसहितको कमाण्डर पुरनसिंह र याक्थुम्बाको अर्को टोलीले वीरगञ्जमा आक्रमण गरेको थियो । वीरगञ्ज कब्जा गरेपछि तामाङ विराटनगर कब्जामा सरिक भएका थिए ।

दिल्लीमा राजा, राणा र नेपाली कांग्रेसका बीचमा त्रिपक्षीय सम्झौता भएपछि २००७ साल फाल्गुन ४ गते राजपरिवार, नेपाली कांग्रेसका नेताहरु नेपाल फर्किदा राजा र कांग्रेसका नेताहरुलाई सुरक्षा दिदै तामाङसहितको टोली नेपाल आएको थियो ।

२००७ साल फाल्गुन २८ गते जनमुक्ति सेनालाई रक्षा दलमा परिणत गरियो । तामाङ रक्षा दलको क्याप्टेन भए । २०१२ सालमा रक्षा दललाई प्रहरी बनाइयो । तामाङ डीएसपी भए । २०१५ सालमा तामाङको नेपालगञ्ज सरुवा भयो । तामाङ आउनु अघिसम्म नेपालगञ्जलाई प्रहरी निरीक्षकले हेर्थे । तामाङ नेपालगञ्जको पहिलो डीएसपीसमेत हुन ।

२०१९ सालमा एसपीमा बढुवा भएपछि तामाङ विराटनगर पुगे । धरान हुँदै २०२७ सालमा एसपीबाट रिटायर्ड भएका तामाङका परिवार शुरुमा विराटनगरमा घर बनाएर बसेका थिए । पछि नेपालगञ्जमा सरुवा भएर आएपछि श्रीमतीले नेपालगञ्ज मन पराएकाले सुर्खेतरोड कारकादोमा बस्न थालेका हुन ।

Next Post

प्रहरी हिरासतका थुनुवाको ‘आरडिटी’ जाँच सबैको नेगेटिभ

७ बैशाख २०७७, आईतवार १८:१२
सदरलाइनडटकम, नेपालगञ्ज  :  प्रहरी हिरासतमा रहेकालाई अदालतमा पेश गर्दा अनिवार्य कोरोना जाँचको रिर्पोट संलग्न हुनुपर्ने अदालतको आदेश अनुसार बाँकेमा पनि थुनुवाको आरडिटी मार्फत जाँच सुरु गरिएको छ । आईतबार जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका ९ जना थुनुवाको ‘आरडीटी’ जाँच गरीएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । […]