कोरोनाको कहर : एकैदिन १४ संक्रमित थपिए !

५ बैशाख २०७७, शुक्रबार २३:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपालमा शुक्रबार एकैदिनमा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा संक्रमितको संख्या ३० पुगेको छ । यसले संक्रमितको संख्या अझै बढ्न सक्ने संकेत दिएको छ ।

उदयपुरको मस्जिदमा आश्रय लिएर बसेका १२ जना भारतीय र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै १६ बाट बढेर ३० पुगेको हो । त्रियुगा नगरपालिका–३ भुल्केमा रकेको एक मस्जिदमा बसेका भारतीय नागरिकमा कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उनीहरु मध्ये १२ जनाको कोरोना पोजेटिभ पाइएको थियो ।

मस्जिदमा ठूलो संख्यामा मानिसहरु बसेको सूचनाका आधारमा सुरक्षाकर्मीसहितको टोलीले मस्जिदमा पुगेर मंगलबार स्वाब संकलन गरेको थियो । उनीहरुको स्वाबको परीक्षण कोशी अञ्चल अस्पताल विराटनगरमा गरिदा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।


शुक्रबार नै चितवनमा २ जना कोरोना संक्रमित थपिएका छन् । चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा हुन् । उनीहरु बेलायतबाट आएका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले उदयपुरको केसले समुदायमा संक्रमित गराउँछ कि भन्ने डर देखाएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका सबै संक्रमित पुरुष भएको जनाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनुपर्ने देखिएको बताए ।

Next Post

नेपालगञ्ज मेडिकल कलेज आईसोलेशमा भर्ना बिरामीको उपचारको क्रममा मृत्यु

५ बैशाख २०७७, शुक्रबार २३:१५
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशन वार्डमा उपचारको लागि भर्ना भएका बर्दिया गुलरियाका एक जनाको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । मेडिकल कलेज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किडवाईका अनुसार रुघाखोकी दमबाट ग्रसित रहेका बर्दिया गुलरियाका ईसराईल बेहनाको अस्पतालको आईसोलेसन आईसियु वार्डमा उपचारको […]