अलपत्र नेपालीका लागि दशगजामै अस्थायी क्वारेन्टाइन

२० चैत्र २०७६, बिहीबार १८:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल भारत सीमा नाका रुपईडिहामा पाँच दिनदेखि अलपत्र परेका १८१ जना नेपालीलाई दशगजामै निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई नेपाल ल्याउन नसकिएपछि नेपाली सेनाले उपलब्ध गराएको टेन्टबाट बिहीवार दशगजामै अस्थायी क्वारेन्टाइन निर्माण गरि राखिएको हो ।
उनीहरु गत सोमवार राती नेपालगञ्ज नाकामा आइपुगेका थिए । भारतको बिभिन्न ठाउँमा काम गर्न गएका उनीहरु कोरोना भाइरसको त्रास तथा लकडाउनका कारण स्वदेश फर्किएका थिए । लकडाउनका कारण खानेकुराको व्यवस्था नभएपछि उनीहरुलाई स्थानीय प्रहरी र युवाहरुले पहिलो दिन खाना खुवाएका थिए ।
नेपाल प्रवेश पाउने आदेश नभएपछि भारतीय प्रहरीले राती नै उनीहरुलाई खुल्ला नाका भएर नेपाल भगाएको थियो । अलपत्र परेका उनीहरु दशगजामै अलपत्र परेपछि नेपालगञ्ज उपमहानगरपालिकाको सक्रियतामा दुई दिन उनीहरुलाई खानापानीको व्यवस्था गरियो । बुधवार नेपाल प्रवेश गरिसकेका उनीहरुलाई नेपाल–भारतका सुरक्षा अधिकारीको छलफलपछि भारतमै क्वारेन्टाईनमा राख्ने सहमति भएको थियो ।
तर नेपाली नागरिकहरुले कुनैपनि हालतमा भारतीय क्वारेन्टाईनमा नजाने र आफ्नो देशमा प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए । भारतमा जान नमानेपछि उनीहरुलाई दशगजा क्षेत्रमै टेन्ट लगाएर अस्थायी क्वारेन्टाइन निर्माण गरेर राखिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए ।
क्वारेन्टाईनमा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन् ।

Next Post

एकद्वार प्रणालीबाट राहत वितरण गर्दै जानकी

२० चैत्र २०७६, बिहीबार १८:४१
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले कोरोना भाईरस (कोभिड–१९) रोकथामको लागि जारी लकडाउनबाट प्रभावित विपन्न समुदायलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने जनाएको छ । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने नीति लिए वमोजिम गाउँपालिकाबाटै राहत सङ्कलन तथा वितरण गरिने अध्यक्ष रामनिवास यादवले जानकारी दिदै गाउँपालिकामा रहेका दैनिक ज्यालादारी मजदुर […]