धनगढीका कोरोना संक्रमित नेपालगञ्ज हुँदै गएका थिए

१५ चैत्र २०७६, शनिबार ०९:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : यतिबेला विश्व नै कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट आक्रान्त छ । यस्तो बेलामा सचेतना र सेल्फ क्वारेन्टाईन नै यसबाट बच्ने उपाय हो । तर नेपालगञ्ज भने विभिन्न कारणले अत्यन्तै असुरक्षित भएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुष दुबईबाट दिल्ली हुँदै काठमाडौं र काठमाण्डौबाट नेपालगञ्ज आएर बसबाट धनगढी गएको कुरा खुलेसंगै नेपालगञ्जमा पनि संक्रमणको जोखिम हुनसक्ने आंकलन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको थियो ।

स्रोतकाअनुसार उनको प्रारम्भिक ट्राभल हिस्ट्री लिइएको छ । जसअनुसार उनी चैत ६ गते दुबईबाट इमिरेट्स एयरको विमानमार्फत् भारतको राजधानी नयाँदिल्ली आएका थिए । त्यसको भोलिपल्ट उनी भारतबाट काठमाडौं आए । तर, कुन विमानमा उनी आएका हुन् भन्ने खुलेको छैन ।

नेपालले चैत १ बाट खाडी मुलुक हुँदै नेपाल आउने सबै उडान रोकेको थियो । तर, भारतले अनअराइभल भिसा पाउनेहरुलाई रोकेको थिएन भने नेपालले भारतबाट आउन रोकेको थिएन । त्यसैले दुबईमा रहेका उनी भारत हुँदै काठमाडौं आए ।


काठमाडौं आइपुगेको भोलिपल्ट बुद्ध एयरको विमानमार्फत् नेपालगञ्ज पुगे । नेपालगञ्जबाट धनगढीसम्म सार्वजनिक बस चढेर पुगेको खुलेको छ ।

धनगढी उपमहानगर– ५ का उनको घरमा ८÷९ जना थिए । घरमा पुगेको केही दिनमा ज्वरो आएपछि उनी ११ गते अर्का व्यक्तिले सेती प्रादेशिक अस्पताल र्पुयाएका थिए । अस्पतालले थ्रोट स्वाव संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । शुक्रबार अपराह्न उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी उनको घरमा पुगेको र परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा बस्न भनेको छ । उनलाई अस्पताल र्पुयाउने व्यक्तिको खोजी भइरहेको छ ।

कोरोना भाइरसको संक्रमण देखिएका पुरुषको भने प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले जनाएका छन् ।

Next Post

लकडाउनको असर सुरु : राप्ती सोनारी–२ मा नुनतेल खाद्यान्न अभाव आपूर्तीको लागि धनाकर्षण

१५ चैत्र २०७६, शनिबार ०९:३९
सदरलाइनडटकम, नेपालगञ्ज  :  कोबिड–१९ (नोबल कोरना) भाईरसको संक्रमणबाट जोगिन आव्हान गरेको लकडाउनका कारण दैनिक उपभोग्य बस्तुको अभाव देखिन सुरु भएको छ । बाँकेको राप्ती सोनारी गाउपालिका–२ वडा अध्यक्ष मदनकुमार ओलीले लकडाउनको कारण आफ्नो वडामा नुन तेल लगायतका खाद्यान्न अभाव भएको बताए । उनले सदरलाइनसंग कुरा गर्दै भने–‘लकडाउनको कारण नुन, तेल […]

सम्बन्धित