नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्न पूर्वमन्त्री राईद्वारा पहल

१० चैत्र २०७६, सोमबार १९:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : देशको संघिय राजधानी काठमाण्डौमा कोरोना भाइरसका एक जना बिरामी भेटिएपछि नेपालगञ्जमा सो भाइरस विरुद्धको अभियानलाई झन तिव्र पारिएको छ ।

सो क्रममा पूर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले कोरोना भारइरस भित्रिन नदिन नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियान सोमवारबाट शुरु गरेका छन् ।

नेपालगञ्ज मेडिकल कलेजद्धारा नेपालगञ्जमा सञ्चालन गरिएको शिक्षण अस्पतालबाट सो अभियानको शुभारम्भ गर्दै पूर्वमन्त्री राईले मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनौडियालाई सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट गर्ने मेसिन तथा मास्कहरु हस्तारन्तरण गरेका थिए ।

राईले ६ वटा सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट मेसिन ल्याएर नेपालगञ्जका विभिन्न अस्पताल, विमानस्थल, सीमानाका र क्वारेन्टाइन तथा बढी भिडभाड हुने ठाउँमा सोमवारबाटै सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने कार्य शुरु गरिएको बताए ।

जिल्लाका विभिन्न अस्पतालहरु, क्वारेन्टाइन, नाका तथा भिडभाड हुने ठाउँहरुमा पहिलो चरणमा सेनिटाइज गरिने तथा त्यसपछि मन्दिर, मस्जिद, गुरुद्धारा, चर्च र अन्य स्थानमा पनि सेनिटाइज गराइने राईको योजना छ ।


स्थानीय सरकारले हालसम्म सहरलाई सेनिटाइज गर्ने कुनै पनि कार्य नगरेकोले बाध्य भएर आफुले ६ वटा मेसिन, त्यसमा लाग्ने औषधी, पोशाक र मास्क वितरण गरेको जानकारी दिए ।
उनले पहिलो चरणमा अस्पताल, प्रहरी, प्रशासन, भन्सार, सीमाना लगायतका ठाउँमा ठुलो संख्यामा मास्क पनि वितरण गरिएको बताए । राईले आफ्नो तर्फबाट अस्पताल र सुरक्षा निकायलाई चाहिने हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि सो अवसरमा व्यक्त गरेका छन् ।

सो अवसरमा नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनौडियाले पूर्वमन्त्रीले गरेको सहयोग धेरै सराहनीय रहेको बताए । उनले अझै पनि स्वास्थ्यकर्मीलाई चाहिने पीपीए नरहेकाले सोको व्यवस्थाका लागि समेत आग्रह गरे ।

सो अवसरमा नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले मास्क त धेरैले बाँडीरहेको हुँदा सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट अति आवश्यक भएकोले आफूले नै पूर्वमन्त्री राईलाई सो गराउन सुझाव दिएको बताए ।

त्यस अवसरमा डा. आसिम किदवाई, समाजसेवीहरु मोहम्मद ईरफान सिद्दिकी, हासिम सिद्दिकी, परवेज अन्सारी र दिपक लगायतले पनि सेनिटाइजेशन र डिसइन्फेक्टेन्टमा सहयोग गरेका थिए ।सोमवार नै भेरी अस्पताल, नेपालगञ्ज विमानस्थल, जमुनाह नाका, लायन्स डेन्टल आइसोलेस हस्पिटलमा पनि सेनिटाइज र डिसइन्फेक्टेन्ट गरिएको पूर्व मन्त्री राईले बताए ।

Next Post

यस्तो छ नेपालगन्ज फाेटाे कथासिहत

१० चैत्र २०७६, सोमबार १९:३६
सदरलाइनडटकम, मंगलबार बिहान नेपालगन्ज सुनसान बनेको छ । प्रहरीहरु सक्रियताका साथ परिचालन भएका छन । फाट्टफुट्ट चलेका मोटरसाइकल र पैदलयात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी भएकालाई छोडेको छ भने बाँकीलाई समातेको छ । बजार पुर्ण रुपमा बन्द छ ।