सदरलाइनडटकम,
नेपालगञ्ज : बिश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाईरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा सोमवार बसेको कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी सरोकारवाला बीच समन्वयात्मक बैठकमा कोरोना भाईरस भित्रिन नदिन आवश्यक सावधानी अपनाउँदै प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स गठन गरिएको हो ।
यसैगरी बैठकले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष ब्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति, प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा ब्यवस्थापन समिति र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ ।
बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणाले कोरोना भाईरसविरुद्ध पूर्वतयारीका लागि आकस्मिक कोष आवश्यक पर्ने भएकाले नेपालगञ्ज उपमहानगरपालिकले ३० लाख सहयोग गर्ने जानकारी दिए ।
बैठकले बाँकेको जिलला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाले २० लाख, ६ वटा गाउँपालिकाले १० लाखका दरले ६० लाख र नेपालगञ्ज उद्योग वाणिज्य संघले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकका अध्यक्षता गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले कोरोना भाईरस भारतको उत्तरप्रदेश राज्यमा देखिएका कारण नेपालगञ्ज पनि उच्च जोखिममा रहेको भन्दै आम नागरिक सचेत हुनुपर्ने बताइन् । बैठकले अध्यावश्यक काम बाहेक भारत नजान आम नागरिकमा आग्रह समेत गरेको छ ।