सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको खजुरारोडमा रहेको जय सियाराम मेनुफैक्चरिङ इन्डष्ट्रिज प्राईभेट लिमिटेडमा मंगलवार राती भएको आगलागीमा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
मृतकको हालसम्म सनाखत हुन नसकेको र शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव वहादुर सिंहले जानकारी दिए । आगलागीमा परि घाइते भएका उद्योगका कार्मचारी दिलिप चमारको भेरी अस्पताल नेपालगञ्जमा उपचार भईरहेको छ । आगलागीबाट करीब १ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका, नेपालगञ्ज विमानस्थल र बर्दियाको गुलरिया र मधुवन नगरपालिकाका ६ वटा दमलल र जेसिभीको सहयोगमा सुरक्षा निकायले उद्योगमा राती १ बजे लागेको आगो बुधवार बिहान ८ बजे नियन्त्रणमा आएको हो ।
उद्योगले जुत्ता चप्पल उत्पादन गर्दै आएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सक्रियताले आगलागी नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।