सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपालगञ्ज उपमहानगरले नोवोल कोरोना भाईरसको जाँचको लागि स्थापना गरेको हेल्थ डेस्कको स्थलगत अवलोकन गरेका छन् ।
उनले नेपालमा नोवोल कोरोना भाईरसको कारण डराउनु पर्ने अवस्था अझै नआएको कुरामा जोड दिदै सतर्कता भने अपनाउदै चनाखो हुनुपर्ने कुरामा जोड दिए ।
स्वास्थ्य राज्यमन्त्री रावतले शनिबार नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले संचालन गरेको सिमावर्ती जमुनाह नाकामा पुगेर भारतबाट नेपाल आउदै गरेका व्यत्तिहरुलाई कोरोना भाइरस भए नभएको जाँच गर्ने हेल्थ डेक्सको स्थलगत अवलोकन गर्दै सचेतना र सतर्कता भने बढाई रहेको स्पष्ट पारे ।
मन्त्री रावतले अहिलेसम्म नेपालमा नोबेल कोरोना भाइरसको संक्रमित फेला नपरेको बताउदै विभिन्न सीमावर्ती नाका तथा राष्ट्रिय र अस्तराष्ट्रिय विमानस्थलमा समेत हेल्थ डेस्कको स्थापना गरी स्वास्थ्य जाँच सुरु गरिएको र यसलाई अझ प्रवाकारी बनाउदै लैजान निर्देशन समेत दिए ।
अवलोकनका क्रममा राज्यमन्त्री रावतले हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई प्रभावकारी तरिकाले परिक्षण गर्न निर्देशन दिदै सरकार कोरोना संक्रमण हुन नदिनका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।
उनले औषधि तथा अत्यावश्यक सामाग्री अभाव भन्ने हल्लाको पछाडि नलाग्न आग्रह समेत गरे । उनले सो अवसरमा आफ्नो स्वास्थ्य समेत जाँच गराएका थिए ।
भारतबाट नेपाल आउने यात्रुलाई सिमा क्षेत्रमा चेकजाँचका लागि केही समय पहिलेदेखि र नेपालगञ्ज विमानस्थलमा हालै हेल्थ डेक्स स्थापना गरिएको नेपालगञ्ज उपहामनगर स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनले दुबै स्थानमा विहान ५ बजेदेखि राती ९ बजेसम्म स्वास्थ्यकर्मीले सेवा दिदै आएको जानकारी सो अवसरमा गराए ।