नेपाली महिलाले राष्ट्र प्रमुख, न्यायलय प्रमुख, सभामुख जस्ता संबैधानिक अगका प्रमुखमा पुग्दा पनि हाम्रै नेपाली समाजमा महिलाहरु कुनै न कुनै हिसाबले कमजोर हुन्छन्, भन्ने मानसिकता अझै पनि कहिंकतै विद्यमान छ । सामाजिक आर्थिक तथा राजनीतिक र खेल जस्ता जुनसुकै ठाँउमा पनि महिला सहभागिता पुरुषको तुलनामा न्यून हुने गरेको छ । कतिपय ठाउँमा त झन महिलाको उपस्थिति देखाउनका लागि मात्रै महिलालाई समेटिने गरिन्छ । यो नेपाली समाजको एउटा तितो यथार्थ हो । तर, पछिल्लो समयका नेपाली किशोरीहरुले आफ्नो भविष्य निर्माणका आफै लागि पर्न थालेका छन् । कडा मेहनत गरेर सफलता पाउने थुप्रै किशोरी मध्ये करिस्मा बोगटी पनि एक हुन् । बोगटी खो–खो खेलकी राष्ट्रिय महिला टोलीकी कप्तान हुन् । २० बर्षिया बोगटीले ३ वटा अन्तराष्ट्रिय र ३ वटा राष्ट्रिय खेलकुद खेलि सकेकी छन् । २०७१ सालबाट खो–खो खेल्न सुरु गरेकी उनीसंग सदरलाइनडटकम अनलाईनका लागि लक्ष्मी तिमिल्सेनाले गरेको कुराकानीको सम्पादीत अंश ।
खेल खेल्नुका फाईदा के छन् ?
खेलले धेरै कुरा सिकाउने गर्छ । खेलले व्यक्तिमा अनुशासन र फिटनेसदेखि लिएर आत्मविश्वासको समेत विकास गराउछ । खेलले व्यक्तिलाई स्वस्थ रहन मद्दत गर्छ ।
खेल खेल्दा कस्ता कस्ता समस्या आउछन् ? महिला खेलाडीका समस्याहरु के के हुन्छन् ?
यो खेल चुनौती पुर्ण खेल हो । खेल खेल्दा खेरी चोटपटक लागेको बेला औषधिहरु छिटै उपलब्ध हुदैन । यस विषयमा सरकारीस्तरबाट पनि खासै ध्यान दिईएको छैन । मासिक धर्मका कारणले पनि खेल खेलिरहेका बखत बेला–बेलामा समस्या हुन्छ । तर, यो तेती ठूलो समस्या हो जस्तो पनि मलाई लाग्दैन ।
जीवन गुजारा गर्न के गर्नुहुन्छ ?
अहिले त केही छैन । तेही त हो नि, खेल्न जान्छु । केही समय पहिले खेल खेल्दै सगसगै ‘पार्टटाइम जब’ थियो । पछिल्लो पटक सागमा छनोट भए लगत्तै त्यो छोडेर गेम खेल्न गए । त्यसपछिका दिनमा खेलमै ब्यस्छु ।
तपाईको खेल प्रति घर परिवारको सहयोग कस्तो छ ? घरबाट कस्तो प्रतिक्रिया आउने गरेको छ ?
घरमा आमा बुवाले पनि सहयोग गर्नुहुन्छ । त्यसैले त यस ठाँउमा छु । अँझ आमा बढी सर्पोटीभ हुनुहुन्छ । पहिले पहिले चाहीँ बाबालाई बुझाउन अलि गाह्रो भएको थियो । किनभने, म खेलेर फर्कदा प्राय रात परिसकेको हुन्थ्यो त्यसकारण छोरी हो कहिँ कतै केहि हुने हो की भन्ने पिर संधै बुवालाई भईरहन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन । बाबाले पनि विस्तारै बुझ्न थाल्नुभएको छ । घरबाट पनि आजभोली सकरात्मक प्रतिक्रिया आउन थालेको छ । अहिले गाउँमा उदाहरण दिनुपर्दा मेरो बाबाको नाम लिएर फलानाको छोरीलाई हेरन भन्ने गर्छन् ।
पढाई कहाँ पुग्यो ?
मेरो पढाई अहिले स्नातक तेस्रो वर्ष (बिए ) मा पुराएकी छु । खेल र पढाईलाई निरन्तरता दिनको लागि कठीन भए पनि समय मिलाएकी छु ।
पारिवारीक अवस्था के छ ?
म मध्यम वर्गिय परिवारकी हुँ । त्यसकारण, पारिवारिक अवस्था पनि ठिकै छ । तेस्तो समस्या खासै त छैन । तर, अब आफूले पनि केही गर्नु पर्छ भन्ने सोच बोकेकी छु ।
खेलाडी भईसके पनि खानपान र तन्दुरुस्तीलाई कसरी सन्तुलनमा राख्नुहुन्छ ?
खानपान पनि राम्रै छ । तर, खेल खेलाईदा अलि नपुगेजस्तो लाग्छ । किनभने, त्यतिखेर हामिले धेरै मेहनत गरिरहेका हुन्छौ । जसकारण, हामिलाई अलि बढी पौष्टिक आहारको आवश्यकता हुन्छ । खेल्ने व्यक्ति तन्दुरुस्त नहुँदासम्म नियमित खेल्न सक्दैन त्यसैले पनि खानपानमा विषेश ध्यान पुराउनु आवश्यक छ ।
खो–खो खेलको प्रर्बद्वन र विकासका लागि आगामी दिनहरुमा कस्ता खालका प्रयासहरु हुन जरुरी छ ?
निश्पक्ष रुपले खेल खेलाईनु पर्छ । खेलाडीहरुको आवश्यकता पहिचान गरि खेलाडीलाई सुबिधा उपलब्ध गराउन सकेमा र खेलाडीहरुको क्षमता अभिवृद्वि गर्नमा ध्यान दिन सकेमा खो–खोको प्रर्बद्वन र विकास हुन सक्छ ।
अन्त्यमा केही भन्न छ कि ?
खो–खो खेललाई माया गरिदिनुस । अवसर पाए हामीले पनि देस र समाजको लागि केही गर्न सक्छौ भन्ने सन्देश दिन चाहान्छु ।