शेर्पा समुदायद्वारा ग्याल्बो ल्होसार मनाईंदै

१२ फाल्गुन २०७६, सोमबार १३:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी सोमवार मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७औँ ग्याल्बो ल्होसार मनाउन लागेका हुन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । सोमवार बराह वर्ष पूरा भई मुसा वर्ष शुरु हुने टीका शेर्पाले जानकारी दिए । ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।
समयक्रममा ग्याल्बो ल्होसार नामाकरण भएको बताए । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्बो ल्होसार पर्वका अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी छन् । ग्याल्बो ल्होसार नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उनले चाडपर्वले नेपालीहरुबीच सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले ग्याल्बो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभकामना दिइन् ।

Next Post

चाँदी कहाँ होलाले पराजुलीलाई चम्काउदै

१२ फाल्गुन २०७६, सोमबार १३:४७
सदरलाइनडटकम, नेपालगञ्ज : गीत संगीतको क्षेत्रमा पछिल्लो समय चाँदी कहाँ होला दोहोरी गीतले बजारमा चर्चा पाएको छ । बहुप्रतिभा भएका गायक तथा सर्जक प्रकाश पराजुली बजारमा छोटो समयमा नै मनग्य दर्शक स्रोताको मनमा बस्न सफल ‘चाँदी कहाँ होला’ दोहोरी गीत केही दिन अगाडि मात्र बजार मा आएको हो । धेरै […]