सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा मंगलवारदेखि दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ शुरु भएको छ । खजुरा क्षेत्रका सामुदायिक, निजी र मदरसा गरी ६० विद्यालयका ६७२ विद्यार्थी सहभागी शैक्षिक महोत्सवमा अतिरिक्त क्रियाकलापका विभिन्न १७ विद्यामा प्रतिस्पर्धा भइरहेको छ ।
नेरा मावि मनकमनापुरको व्यवस्थापनमा नेरा माविमा भइरहेको शैक्षिक महोत्सवमा पठनबोध, अनुलेखन, चित्रकला, एकल नृत्य, हाजिरीजवाफ, कविता लेखन, एकल गायन, सामुहिक नृत्य, वक्तृत्वकला, नियात्राः कक्षा ९ र १० का विद्यार्थीवीच, निवन्ध लेखन, वादविवाद गरी १७ इभेन्टमा प्रतिस्पर्धा गराइरहेको शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईले जानकारी दिए ।
आधारभूत तह कक्षा १ देखि ५ सम्म १९३ जना, आधारभूत तह कक्षा ६ देखि ८ सम्म २७१ जना, माध्यमिक तह ९–१० कक्षाका १९३ जना र माध्यामिक तह (११–१२) कक्षाका १५ जना विद्यार्थीले सहभागिता जनाइरहेकोमा पहिलो दिन अधिकांश विद्यामा प्रतियोगी विद्यार्थीवीच प्रतिस्पर्धा गराइएको दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ सचिवालय संयोजक मित्रलाल सापकोटाले जानकारी दिए ।
महोत्सवको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले उद्घाटन गर्दै शैक्षिक महोत्सव विद्यार्थीको प्रतिभा देखाउने एउटा राम्रो माध्यम भएको बताए । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले विद्यार्थीभित्र लुकेका प्रतिभा प्रष्फुटनका लागि शैक्षिक महोत्सव महत्वपूर्ण कडी हुने बताए । उनले खजुराले अघि सारेको शैक्षिक गुणस्तर सुधार्न शैक्षिक महोत्सवले टेवा पु¥याउने विश्वास व्यक्त गरे । प्रमुख कक्षपतिले खजुरालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन लगानी बढाउनुका साथै शिक्षा, खेलकुद र स्वास्थ्यलाई एकअर्काका परिपुरकका रुपमा विकास गरिँदै लगिनेमा जोड दिए ।
मंगलवार आधारभूत कक्षा ६–८ र मावितर्फ कविता, मावि कक्षा ११ र १२ निवन्ध लेखन, मावि कक्षा ९ र १० नियात्राः, आधारभूततर्फ पठनबोध, अनुलेखन, चित्रकला र एकल नृत्य सम्पन्न भएको खजुरा गाउँपालिका शिक्षा विज्ञ भक्तबहादुर केसीले जानकारी दिए । महोत्सव बुधवारसम्म सञ्चालन हुनेछ ।