सदरलाइनडटकम,
कैलाली : कैलालीको घोडाघोडी बहूमुखी क्याम्पसमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नाममा क्याम्पसले रकम असुल्न खोजेको भन्दै तालाबन्दी गरिएको स्ववियू सभापति जीवन बिसीले जानकारी दिए ।
क्याम्पसले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनलागि हालसम्मको बक्यौता रकम तिर्नुपर्ने र थप २ हजार रुपैयाँ तिरेर परिचय पत्र बनाउनुपर्ने बताएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । नेपाल विद्यार्थी संघ र अनेरास्वयूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेका हन् । बिहीवार क्याम्पस प्रशासनले स्ववियु निर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।
बैठकमा कुनै सहमति हुन सकेन । उता क्याम्पस प्रशासनले भने बिहवार बसेको बैठकले निर्णय गरेको भन्दै हाल सम्मको बक्यौता रकम तिर्नुपर्ने र, थप दुई हजार रुपैयाँ तिरेर परिचय पत्र बनाउनुपर्ने भन्दै बिद्यार्थिहरुलाई सूचना जारी गरेको थियो । उक्त निर्णय नसच्चिएसम्म आन्दोलन जारी राख्ने भन्दै नेविसंघ र अनेरास्वयूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा क्याम्पसले विविध शीर्षकमा लिँदै आएको ६०० रुपैयाँ हटाउनुपर्ने, स्ववियु बापत काटिएको रकम स्ववियुको खातामा हुनुपर्ने प्रयोगात्मक शुल्क घटाउनुपर्ने, विद्यार्थी वित्तीय कोषको छात्रवृत्तिबाट काटिएको १ हजारको हिसाब सार्वजनिक गर्नुपर्ने, र बक्यौता रकमको विषयमा छलफल गरी समाधान निकाल्नुपर्ने उल्लेख गरिएको छ । बिद्यार्थीहरुले समाधानको लागि वार्ता टोली पनि गठन गरेका छन् ।
टोलीमा अनेरास्वयूको तर्फबाट बिराज पाण्डे, मोहन ऐर, कपिल सापकोटा तपेन्द्र पहराई र नेबिसंघको तर्फबाट दिपेन्द्र ढुंगाल भरत कुमार शाही हिक्मत थापा रहेका छन् । बिद्यार्थीहरुको समस्या प्रति क्याम्पस प्रशासन गम्भीर नभएपछि तालाबन्दी गरिएको वार्ता टोलीका सदस्य बिराज पाण्डेले बताए ।