वडाध्यक्ष धामीको हत्याविरोधमा प्रदर्शन जारी

२३ माघ २०७६, बिहीबार १३:०६
 

सदरलाइनडटकम,
अछाम : अछामस्थित पन्चदेवल नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यारालाई पक्राउ गर्न माग गर्दै बिहीवार बिहानैदेखि प्रदर्शन भईरहेको छ । शंकास्पद मृत्यु भएको तीन दिन बितिसक्दा समेत शव उठाएका छैनन् भने मृतकका आफन्तहरु एवं स्थानीयले विहानैदेखि सडकमा टायर बालेर विनायक बजार बन्द गराएका छन् ।
धामीको शव मंगलवार बिहान ५ बजे गैरीगाँउस्थित गोठछानामा फेला परेको थियो । प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोट लागेको छ । हत्यारा पक्राउ नपर्दासम्म शव नउठाउने आफन्तको अडानका कारण हालसम्म पोष्टमार्टम समेत हुने सकेको छैन ।
अछाम प्रशासन, प्रहरी र स्थानीय तहले शवको पोस्टमार्टमका लागि पहल गरिरहे पनि अहिलेसम्म कुनै टुँगो लागेको छैन । प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, अछाम प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक भारती, उपमेयर अम्बिका चलाउने, नेकपाका प्रदेश सदस्य नन्दबहादुर कडायत, नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरलगायत आफन्तहरुले बुधवार विभिन्न चरणमा छलफल गरेपनि निश्कर्षमा पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।
प्रहरीले सिआईवी र तालिमप्राप्त कुकुरको माध्यमबाट अनुसन्धान शुरू गरेको छ । कुकुरले मृतक अध्यक्ष दिउँसो हिँडेको स्थान पहिचान गरेको स्थानीयले बताएका छन् । तर उनको हत्या भएको स्थान भने कुकुरले पत्ता लगाउन सकेको छैन ।

Next Post

टर्कीमा विमान चिप्लिँदा तीन जनाको मृत्यु, विमानको तीन टुक्रा

२३ माघ २०७६, बिहीबार १३:०६
सदरलाइनडटकम, काठमाण्डौ : टर्कीको इस्तानबुलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १ सय ७० जना घाइते भएका छन् । इज्मिर प्रान्तबाट गएको बोइङ ७३७ विमान सबिहा गोक्सेन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भारी […]