भेरी अस्पतालमा सिकलसेल एनिमियाका बिरामीको चाप बढ्दै

१९ माघ २०७६, आईतवार ०९:०८
 

सदरलाइन / रुद्र सुवेदी,
नेपालगञ्ज  : पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाका विरामीहरु दिनानु दिन बढ्दो क्रममा छन् ।
सिकलसेल एनिमियाँ एक प्रकारको रक्तअल्पता हो र यो वंशाणुगत रुपमा मात्र सर्ने हुँदा थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखा परेको सिकलसेल एनिमियाका बारेमा सोध अनुसंन्धान गर्दै आएका भेरी अस्पताल नेपालगन्जका मेडिकल विभाग प्रमुख तथा कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले जानकारी दिए ।
उनले सिकलसेल एनिमियाँ तराईमा औलोको बिगबिगी हुँदा औलोबाट जोगिएका रैथानेहरुमा मात्र देखा परेको जानकारी दिदै यो रोगमा जण्डिस हुने, हातखुट्टाको जोर्नी दुख्ने बाथ जस्तो हुने भएपनि यो रोग वंशाणुगत बाहेक एक ब्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताए ।
उनले यो रोग सरुवा किसिमको रोग नभएको जानकारी दिदै भने–‘यो रोग वंशाणु गत रुपमा मात्र सर्छ बैलैमा यो रोग भए नभएको जाँच गर्न सके वा वैबाहिक जीवन सुरु गर्दा नै केही सावधानी अपनाउदा यो रोगबाट बच्न सकिन्छ ।’ उनले सिकलसेलका विरामी–बिरामी बीच बिबाह हुँदा जन्मने बच्चा पनि सिकलसेलकै बिरामी जन्मने हुँदा भरसक विबाह गर्दा सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुने सल्लाह दिन्छन ।
उनले सिकलसेल एनिमिया तथा थालसेमिया नेपालमा थारु समुदायमा मात्र जनस्वास्थ्य समस्याको रुपमा रहेको र अन्य जातमा पनि फाटफुट देखापरेकोले सबैले भरसक आफुलाई सिकलसेल भए नभएको जाँच गर्न आवश्यक रहेको औल्याए । सामान्य व्यक्तिमा रक्तकोषको आकार गोलो पैसा जस्तो हुनुका साथै रक्तकोषको आयु १२० दिन हुने भएपनि सिकलसेल एनिमिया हुनेको रक्तकोषको आकार हसिया जस्तो हुनुको साथै आयु पनि २० दिन मात्रै हुने भएकोले बिरामीमा रगतको कमी हुने डा पाण्डेको भनाई छ ।
बाँकेको भेरी अस्पतालमा सिकलसेल एनिमियाको जाँच निशुल्क हुनुको साथै सिकलसेल एनिमिया भएको प्रमाणित भएका विरामीले विभिन्न समयमा गरी १ लाख बराबरको औषधि र जाँच सेवा पाउने व्यवस्था रहेको छ ।
अस्पतालमा उपचारको लागि आउने सिकलसेल एनिमियाँका विरामीलाई तालिम प्राप्त स्टाफ नर्शबाट रोगको बारेमा मनोसामाजिक परामर्श दिनुको साथै उनीहरुले अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता तथा स्टाफ नर्श आस्था केसीले जानकारी दिईन ।
उनले भनिन–‘हामी अस्पतालमा आउने सिकलसेलका विरामीलाई रोगको बारेमा जानकारी दिनुको साथै यसको लक्षण, अवस्था, गर्न हुने नहुने कुराहरु सबै उनीहरुले बुझ्ने भाषमा नै सम्झाउने गरेका छौ ।’ उनले समाजमा गहिरो संग यस रोगको बारेमा जनचेतना फैलाउन आवश्यक रहेको औल्याईन ।
सिकलसेल एनिमिया भएको प्रमाणित भएका विरामीहरुले पाउने सेवा सुविधा र उनीहरुले अपनाउनु पर्ने सावधानीका लागि अस्पतालको ओपिडिमा आएका विरामी जसलाई चिकित्सकले सिकलसेल पुष्टि गरेका छन् ती बिरामी तथा तीनका आफन्त परिवारजनलाई मनोविर्मश गरीने सिकलसेल काउन्सेलर तथा स्टाफ नर्श कृतिका रेग्मी बताउछिन ।
उनले भनिन–‘धेरैलाई यो रोगको बारेमा जानकारी नहुँदा रोग लागेको पुष्टि हुने वित्तिकै समाज तथा आफन्त र घरपरिवारमा नकारात्मक सन्देश जाने भएकोले यो रोग लागेकाहरुलाई चिकित्कसको सल्लाहमा औषधि लिने र केही सावधानी अपनाउने कुराको परामर्श दिने गरेका छौ ।’ उनले केही समय यता अस्पतालमा विरामीको चाप बढ्दो रहेको बताईन ।
बाँकेको भेरी अस्पतालको सामाजिक सेवा ईकाई अन्तरगत सञ्चालनमा रहेको विपन्न नागरिक स्वास्थ्य उपचार कोषबाट सिकलसेल एनिमियाका विरामीले निशुल्क उपचार पाउने गरेको ईकाई प्रमुख प्रेम सुवेदीले जानकारी दिए ।
उनले चालु आर्थिक वर्षकोे पुस मसान्तसम्म ७ सय ६७ जनाले एकलाख बराबरको उपचार सेवा पाउने गरी सुचिकृत भएको जानकारी दिदै भने–‘ सिकलसेल पुष्टि भएका विरामीले ल्याव, बेड तथा औषधिको लागि जीवनकाल भर १ लाख बराबरको सुबिधा राज्यले दिने गरेको छ । ईकाईमा सुचिकृत भएर परिचय पत्र बनाई सकेपछि त्यसकै आधारमा यो सुविधा दिने गरिएको छ ।’
हुनत सिकलसेल एनिमिया नेपालमा थारु समुदायमा मात्र जनस्वास्थ्य समस्याको रुपमा देखा परेको भएपनि पछिल्लो समयमा छिटफुट अन्य जातिमा पनि देखा परेकोले सबैमा सिकलसेल भए नभएको जाँच गर्न आवश्यक देखिएको छ ।

Next Post

बाँकेमा कोरोना भाइरस संक्रमणको जाँच गरिने

१९ माघ २०७६, आईतवार ०९:०८
सदरलाइनडटकम, नेपालगञ्ज : उत्तरी छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिन बाँकेस्थित सीमानाका जमुनाहामा जाँच गरिने भएको छ । नेपाल भारत सीमानाका जमुनाहास्थित हेल्थ डेस्कले सोमवारदेखि नेपाल भित्रिने नागरिकहरुमा संक्रमण भए नभएको जाँच गर्ने भएको हो । कोरोना भाइरसका कारण चीनसहितका केही देशमा संक्रमित व्यक्तिहरुको संख्या प्रतिदिन […]