माता सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाईंदै

१६ माघ २०७६, बिहीबार १४:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाराधना गरी आज बाँकेसहित देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।
देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरसहित विभिन्न मन्दिरहरुमा श्रद्धालुहरु पूजाअर्चना गरिरहेका छन् । बसन्त पञ्चमीका अवसरमा बाँकेका विभिन्न विद्यालयमा माता सरस्वतीको पूजाअराधना गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।


यस्तै डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित सरस्वती माध्यमिक विद्यालय भंघोटनामा माता सरस्वतीको विशेष पूजा पाठ गरिएको छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिवत पूजापाठसँगै प्रसाद वितरण गरिएको विद्यालयका प्रधानाध्यापक आशाराम कोरीले बताए ।
सोही ठाउँमा रहेको सनराइज इङलिश बोर्डिङ स्कुलले माता सरस्वतीको पूजाअराधानाका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । कार्यक्रममा विभिन्न विधामा प्रतियोगिता गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितीय तथा तृतीय छात्रछात्राहरुलाई पुरस्कार प्रदान गर्ने स्कूलका प्रिन्सिपल छविलाल भण्डारीले बताए ।



यसैबीच विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ ।

Next Post

गुठी प्रकरण : जग्गाधनीद्वारा नेपालगञ्जमा प्रदर्शन

१६ माघ २०७६, बिहीबार १४:१५
सदरलाइनडटकम, नेपालगञ्ज : व्यक्तिको जग्गा बागेश्वरी मन्दिरको नाममा फिर्ता गर्ने सरकारको निर्णयबिरुद्ध नेपालगञ्जमा बिहीवार पनि प्रदर्शन भएको छ । बाँकेको जानकी–३ स्थित ८४ बिगाह जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने सरकारले तयारी गरेपछि जग्गा धनीहरु आन्दोलनमा उत्रिएका छन् । सदिंयौंदेखि तिरो तिर्दै आएको जग्गा एक्कासी मन्दिरको नाममा भएको भन्दै सरकारले फिर्ता […]