कम्दीका शिक्षक यादव बिरुद्ध अख्तियारको आरोप पत्र दायर

१४ माघ २०७६, मंगलवार २३:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : अख्तियार दुरुपयोग अनुसंधान आयोगले शहिद स्मारक माध्यमिक विद्यालय, कम्दी ७ पदमपुर, बाँकेका तत्कालीन शिक्षक उदयराज यादव उपर आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा शहिद स्मारक माध्यमिक विद्यालय, कम्दी ७ पदमपुर, बाँकेमा प्राथमिक तहमा स्थायी रुपमा कार्यरत प्रावि द्वितीय श्रेणीका शिक्षक यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन यूपी भारतबाट हाईस्कुल उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोप पत्र दायर गरिएको हो ।


यादवले २०४१ कात्तिक २६ गते शिक्षकको रुपमा सेवा प्रवेश गरी २०७६ पुस २९ सम्म कार्यरत रहँदा सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको देखिएको हुँदा उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Next Post

मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

१४ माघ २०७६, मंगलवार २३:१५
सदरलाइनडटकम, कञ्चनपुर : मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसेपानीका ३५ वर्षीय घुम्मन डगौराको मृत्यु भएको छ । मंगलवार राति घरमै मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले बताए ।