प्रभात माविले मनायो वार्षिकोत्सव

  
  प्रकाशित मितिः सोमवार, माघ १३, २०७६       | 92 Views   ||

सदरलाइनडटकम,
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ अरनिकोनगर, जि गाउँस्थित प्रभात माध्यमिक बिद्यालयले सोमवार ५१ औं वार्षिकोत्सव मनाएको छ । बिद्यालयले एक समारोहका बीच आफ्नो स्थापनाको ५१ वर्ष र अभिभावक दिवस मनाएको हो ।
दिवसका अवसरमा बिद्यालयको बिकासमा सहयोग गर्ने चन्दा दाता, सहयोगी दाता, उत्कृष्ठ शिक्षक कर्मचारी, बिद्यार्थी र अभिभावकलाई सम्मानपत्रसहित सम्मानित गरेको छ । यस्तै बिद्यालयको समग्र वातावरण सुधारका लागि ६० लाख रुपैयाँ बराबरको कार्यहरु गरेको र भइरहेकाले कार्यक्रम सञ्चालन गर्ने गेरुवा ग्रामीण जागरण संघ बर्दिया र सहयोगी प्लान इन्टरनेशन नेपाललाई समेत प्रमाण पत्र तथा दोसल्लाले सम्मान गरिएको छ ।
बि.स.२००७ सालमा स्थापना भई खरको झुपडीबाट अध्यापन शुरु गरेको बिद्यालयले बिभिन्न व्यक्तिहरुको सहयोगमा बिशाल नमूना बिद्यालयमा परिणत हुन सफल भएको छ । बैजनाथ गाउँपालिकाभित्र नमूना बिद्यालयका रुपमा आफ्नो नाम दर्ता गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिकाकाका अध्यक्ष मानबहादुर रुचालले बिद्यालयमा हुने हरेक क्रियाकलापबाट सन्तुष्ट रहेको बताए । उनले बिद्यालयको बिकास र गुणस्तरका निम्ति गाउँपालिका सदैव सहयोगी बन्न तयार रहेको प्रतिबद्धता जनाए । बिद्यालयलाई नमूना बनाउनका लागि बिद्यालय सेवा क्षेत्रभित्रका अभिभावकहरुलाई धन्यवाद दिँदै गाउँपालिका अध्यक्ष रुचालले यसलाई क्याम्पसका रुपमा परिणत गर्न आफ्नो तयारी रहेको उल्लेख गरे ।
बिद्यालयमा हाल निजी बिद्यालयमा रहने हरेक सुबिधा उपलब्ध छ । बिद्यालयले अभिभावक तथा चन्दादाताको सहयोगमा बस सेवा सञ्चालन गरेको छ । त्यस्तै बिद्यालय प्रदेश नं. ५ को सामाजिक बिकास मन्त्रालयबाट उत्कृष्ठ बिद्यालयका रुपमा पुरस्कृतसमेत भएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सुनारले नमूना बिद्यालयको गुरुयोजना निर्माण र बिकास गर्ने योजना रहेको बताए । उनले निजी बिद्यालयसरह नै बिद्यालयमा अंग्रेजी माध्यमको कक्षा शुरु गर्ने र पाँच सय क्षमताको आधुनिक सभाहल निर्माण गर्ने बताए । बिद्यालयका निमित्त प्रधानाध्यापक बाबुराम अधिकारीका अनुसार शुद्ध खानेपानी, मार्बल, हात धुने व्यवस्थासहितको सुबिधासम्म शौचालय रहेको बिद्यालयमा करीब हजार बढि बिद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मितिः सोमवार, माघ १३, २०७६     5:47:53 PM  |