वडास्तरीय क्रिकेट प्रतियोगिता नेपालगञ्ज शुरु

  
  प्रकाशित मितिः शुक्रबार, माघ १०, २०७६       | 95 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा शुक्रवारदेखि अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन पुर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य मो. स्तियाक राईले गरेका छन् । पूर्व मन्त्री उद्घाटन गर्न स्टेजमा पुगेलगत्तै सबै वडाध्यक्षहरु एमपी स्कुलको मैदानबाट बाहिरिएका थिए ।
उनीहरुले क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रम बहिष्कार गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयहरुको सहयोग रहेको प्रतियोगितामा वडाध्यक्षहरुसँग समन्वय र सहकार्य नगरेको भन्दै प्रतिनिधि सभा सांसद मो. स्तियाक राईले उद्घाटन गरेको कार्यक्रमको उनीहरुले बहिष्कार गरेका हुन् ।
मेयर–उपमेयर र वडाध्यक्षहरुसँग प्रतियोगिता बारेमा कुनै रायसल्लाह नलिई आफ्नै मनमानी तरिकाले प्रतियोगिता उद्घाटन गरेकाले सबै वडा अध्यक्षहरुले उद्घाटन कार्यक्रम बहिष्कार गर्नुपरेको वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्रबहादुर शाहले बताए । तर उद्घाटन पछिका सबै खेल र कार्यक्रमहरुलाई सहयोग गर्ने शाहले बताए ।

प्रकाशित मितिः शुक्रबार, माघ १०, २०७६     2:57:43 PM  |