नरैनापुरमा पहिलोपटक स्कुल बस सञ्चालन

  
  प्रकाशित मितिः शुक्रबार, माघ १०, २०७६       | 134 Views   ||

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले जिल्लामै पहिलोपटक स्कुल बस सञ्चालनमा ल्याएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय ल्याउन लैजान स्कुल बस सञ्चालनमा ल्याइएको हो ।
वडा नम्बर १ कट्कुइँयामा शुक्रवार स्कुल बसको उद्घाटन गर्दै बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले स्कुल बस सञ्चालनपछि सहज स्थितिको शुरुवात भएको बताए । अभिभावकहरु अब आफ्ना बालबालिकालाई स्कुल पठाउने झंझटबाट मुक्त भएको जिकिर गर्दै सांसद् अथकले आफ्ना बालबालिकालाई नियमितरुपमा विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गरे ।
नरैनापुरको शैक्षिक विकासका लागि आफू लागिरहेको भन्दै उनले गंगापुरको जय किसान माविलाई नमुना बिद्यालयको रुपमा विकास गरिने बताए । उनले प्राविधिक धारको पढाई शुरु गर्ने प्रयास भइरहेको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शिक्षा विकासको अपरिहार्य आवश्यकता भएकाले गाउँपालिकाको शैक्षिक सुधारका लागि प्रयासरत रहने बताए ।
विद्यालयमा विद्यार्थीको संख्या बढाउन स्कुल बस सञ्चालन गरेको उनको भनाई थियो । उनले शिक्षामा सुधार नगर्दासम्म नरैनापुर पछि परिरहने भन्दै शैक्षिक सुधारका लागि आफुलाई साथ दिन स्थनीयसँग आग्रह गरे ।

प्रकाशित मितिः शुक्रबार, माघ १०, २०७६     2:51:23 PM  |