ढाई सय खसीसहित बाँकेमा दुई पक्राउ

  
  प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६       | 276 Views   ||

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : अवैधरुपमा भारतबाट तस्करी गरेर ल्याइएका २ सय ५७ वटा खसीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । झण्डै साढे ३८ लाख बराबरका अवैध खसीसहित रोल्पाको रुन्तिगढी गाँउपालिका वडा नम्बर ६ का युवराज पुन र दाङ घोराही उपमहानगरपालिका १३ का सविन थापालाई गाडीसहित पक्राउ गरिएको हो ।
राजस्व छलेर अवैध रुपमा भारतबाट नेपाल ल्याउन लागिएका खसीबोकासहित प्रहरीले जंगलबाट रातको समयमा नियन्त्रणमा लिएको जनाएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदिप चन्द ठकुरीको नेतृत्वको टोलीले बाँकेको राप्ती सोनारी गाँउपालिका ३ स्थित वनघुसरी जंगलबाट दुई ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले खसी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ भने दुबै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ ।

प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६     6:31:26 PM  |