अभियुक्तलाई फाँसी नदिन अदालतको आदेश

  
  प्रकाशित मितिः बिहिबार, माघ २, २०७६       | 270 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : दिल्लीको पटियाला हाउस कोर्टले निर्भया सामूहिक बलात्कारका दोषीलाई सुनाइएको मृत्युदण्डको सजायमाथि ‘स्टे अर्डर’ जारी गरेको छ । अदालतको उक्त आदेशपछि सामूहिक बलात्कारका ४ जना दोषीले यही जनवरी २२ तारेखमा फाँसी नपाउने भएका छन् । पटियाला हाउस कोर्टले निर्भया केसका एक अभियुक्त मुकेश सिंहको याचिकामाथि सुनवाई गर्ने क्रममा ‘स्टे अर्डर’ सुनाएको हो ।
यसको अर्थ चारैजना दोषीलाई २२ जनवरीमा फाँसीको फन्दामा नचढाइने भएको हो । अदालतले जेलका अधिकारीलाई २२ जनवरीमा फाँसी नदिन भन्दै आदेश जारी गरेको छ । ‘स्टे अर्डर’पछि कानुन अनुसार जेलका अधिकारीले अदालत तथा राज्य सरकारलाई दया याचिका दायर भएको र फाँसीको सजायलाई स्थगित गरिएको भनेर सूचित गर्नु पर्नेछ । साथै जेलका अधिकारीहरुले जबसम्म राष्ट्रपतिद्वारा यसबारे निर्णय हुँदैन तबसम्म दोषीलाई फाँसीमा चढाइदैन भनेर समेत रिपोर्ट पेश गर्नुपर्नेछ ।
चारैजना दोषीविरुद्ध गत पुस २२ गते डेथ वारेन्ट जारी गरिएको थियो । चारैजनालाई जनवरी २२ गते बिहान सात बजे फाँसी दिइने गरी उक्त वारेन्ट जारी गरिएको थियो । दोषीहरुलाई ८ वर्षअघि दिल्लीमा भएको एक बलात्कार काण्डमा फाँसीको सजाय सुनाइएको हो । निर्भया काण्डमा अक्षय, मुकेश, विनय र पवनलाई यस अघि नै फाँसीको सजाय सुनाइएको थियो ।
सन् २०१२ डिसेम्बर १६ तारेखमा ज्योति सिंहमाथि सामूहिक बलात्कार भएको थियो । आफ्ना साथी अविन्द्र प्रताप पाण्डेसँगै फिल्म हेरेर फर्किने क्रममा उनलाई एक समूहले बलात्कार गरेको थियो । बलात्कार भएको १३ दिनपछि सिंहको मृत्यु भएको थियो । ज्योति र अविन्द्र राति पौने दस बजे बस चढेर घर फर्कँदै गर्दा बसमा रहेका ४ जनाले ज्योतिलाई बलात्कार गरेका थिए । बस चढेपछि बसमा रहेका ४ जनासँग अविन्द्रको भनाभन भएको थियो । भनाभनपछि अविन्द्रलाई उक्त समूहले कुटेर बेहोस बनाएका थिए ।
त्यसपछि ज्योतिलाई बसको पछाडि लगेर सामूहिक बलात्कार गरेका थिए । अभियुक्तहरूले बेहोस ज्योति र अविन्द्रलाई गुडीरहेको बसबाट बाहिर सडकमा फालेका थिए । उक्त घटनामा गम्भीर घाइते भएका अविन्द्र भने बाँच्न सफल भएका थिए तर उपचारका क्रममा ज्योतिको मृत्यु भएको थियो । (एजेन्सी)

प्रकाशित मितिः बिहिबार, माघ २, २०७६     5:54:16 PM  |