राप्तीपारिको हुलाकी सडकमा कालोपत्रे

१३ पुष २०७६, आईतवार १७:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय जेभी कम्पनीले १० वर्षसम्म बनाउन नसकेको हुलाकी सडक तीव्र गतिमा निर्माण भइरहेको छ । नेपालगञ्जबाट राप्तीपारी बघौडासम्मको ४४ किलोमिटर सडक मध्ये ३० किलोमिटर कालोपत्रे भइसकेको छ । नेपालगञ्जको पुष्पलाल चोकदेखि फत्तेपुरको झगडियासम्मको २२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
निर्माण कम्पनीले दुई कलस्टरमा विभाजन गरेर सडक निर्माण गरिरहेको छ । पहिलो कलस्टर अन्तरगत ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको हुलाकी सडक कार्यालय, नेपालगन्जले जनाएको छ । कल्भर्टमा ग्याब्लिङ (जाली भर्ने) र सडकको वीच भागमा मार्किङ तथा ट्राफिक चिन्ह भएको साइन बोर्ड निर्माणको काममात्र बाँकी रहेको हुलाकी सडक कार्यालयका निमित्त प्रमुख इन्जिनियर रामसागर हरिजनले बताए ।
जग्गा विवादका कारण पहिलो कलस्टरमा ६ सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । जग्गा विवाद समाधान भइसकेकोले गर्मी शुरु हुनासाथ बाँकी रहेको ठाउँमा कालोपत्रे र मार्किङको काम शुरु हुने हुलाकी सडक निर्माण गरिरहेको गणपति कन्स्ट्रक्शनका प्रमुख तुलसीराम भण्डारीले बताए । दोस्रो कलस्टरअन्तर्गत २२–४४ किलोमिटरमा ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको बताए । दोस्रो कलस्टरमा पर्ने २२ किलोमिटर सडक मध्ये आठ किलोमिटर कालोपत्रे भइसकेको बताउँदै भण्डारीले पाँच किलोमिटर कालोपत्रेका लागि तयारी अवस्थामा रहेको बताए ।
‘चिसोमा कालोपत्रे गर्न नमिल्ने भएकोले कालोपत्रेका लागि तयारी अवस्थामा छ’, भण्डारीले भने । उनले बाँकी ९ किलोमिटरमा कालोपत्रेका लागि बेस निर्माणको काम तीव्र गतीमा भइरहेको बताए । कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेकोले फागुन मसान्तसम्म कालोपत्रेको काम सम्पन्न हुने उनले दावी गरे । ‘जाडोयामभर कलोपत्रेका लागि बेसको काम गर्ने र घाम लाग्नासाथ कालोपत्रे गर्नेगरि निर्माणको काम भइरहेको छ’, उनले भने । (थाहाखबरबाट)

Next Post

डिजिटल मिडियाका कारण जनता थप शक्तिशाली : मन्त्री पुन

१३ पुष २०७६, आईतवार १७:४९
सदरलाइनडटकम, काठमाण्डौ : उर्जामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले डिजिटल मिडियाका कारण जनतामा सूचनाको पहुच बलियो भएको बताएका छन् । प्रदेश ५ का पत्रकारहरुसँग काठमाण्डौमा भएको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । इन्टरनेटको विकास र सामाजिक सञ्जालको विस्तारका कारण समाजमा सूचना शक्ति बलियो बन्दै गएको भन्दै उनले […]