सदरलाइनडटकम,
नेपालगञ्ज : भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बाँकेमा विशेष कार्यक्रमको तयारी गरिएको छ । नेपालगञ्जमा भव्य विशेष कार्यक्रम आयोजना हुने तथा जमुनाहा नाका हुँदै आउने विदेशी पर्यटकलाई भव्य स्वागत गरिने होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिए ।
उनका अनुसार भ्रमण वर्ष शुभारम्भको दिन जमुनाहनाकामा दुई हजार बढी पर्यटक भित्र्याइने र उनीहरुलाई भव्य स्वागत गर्ने योजना बनाइएको छ । पर्यटन प्रवद्र्धनका लागि बनेको प्रदेशस्तरीय समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले विशेष कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहको साझेदारी खोजिएको बताए ।
प्रदेश नं ५ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा आयोजना हुनेछ । भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि निकुञ्जमा सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।
उनले पर्यटकलाई निकुञ्ज अवलोकन गर्न आउन आग्रह गर्दै यहाँको प्राकृतिक मनोरम वातावारणको आनन्द लिन सबैलाई जङ्गल सफारी खुला गरिएको बताए ।
