सदरलाइनडटकम,
बुटवल : गुरुङ समुदायले आफ्नो मुख्य पर्व तमु ल्होसार अर्थात् पुस १५ सहित अन्य जनजातिका पाँच मुख्य पर्वमा राष्ट्रिय विदा दिन सरकारसँग माग गरेका छन् । वर्तमान सरकारले तमु ल्होसारको विदा कटौति गरेका कारण यस वर्षको ल्होसारलाई आन्दोलनकै रुपमा मनाउने उनीहरुको तयारी छ ।
तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी ल्होसारसहित उधौली, उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे संक्रान्तिमा सार्वजनिक विदा दिन माग गरेको छ । २०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौति गरी सम्बन्धित जातिलाई मात्रै विदा दिने निर्णय गरेको थियो ।
गुरुङ राष्ट्रिय परिषद रुपन्देहीकी अध्यक्ष विमला गुरुङले आदिवासी जनजातिका पर्व र कला संस्कृतिहरु सम्बन्धित जातिको मात्र नभई सिंगो मुलुुकको साझा सम्पत्ति भएकाले उनीहरुका पर्वमा सार्वजनिक विदा दिइनुपर्ने माग गरिन् । वर्तमान सरकारले घोषणा गरेको १५ दिनको सार्वजनिक विदाले मुलुकमा परिवर्तनको अनुभूति हुन नसकेको र आदिवासी जनजाति समुदायको सामाजिक, साँस्कृतिक तथा धार्मिक चाडपर्वले सम्मान प्राप्त गर्न नसकेको गुरुङले बताइन् ।
सरकारले विभिन्न जातजातिका पर्व सबैको साझा हो भन्ने अनुभुति गराउन साथै बिभेद र असमानताको अन्तका लागि तमु ल्होसारलगायत अन्य आदिवासी जनजाति समुदायको मुख्य चाडपर्वहरुमा सार्वजनिक विदा नदिएमा सशक्त आन्दोलनमा उत्रिने गुरुङ राष्ट्रिय परिषद प्रदेश ५ का सचिव एलबी गुरुङले बताए ।
ल्होसारमा सार्वजनिक विदाको माग गर्दै आइतवार बुटवलको सामाजिक विकास मन्त्रालय अगाडि दुई घण्टा प्रदर्शन र ७ गते प्रदेश समितले मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको गुरुङले जानकारी दिए । ल्होसारमा सार्वजनिक विदाको माग गर्दै परिषदले रुपन्देहीका स्थानीय तहहरुलाई पनि ज्ञापनपत्र बुझाएको सचिव ओमप्रकाश गुरुङले बताए ।