धनुषामा बम विस्फोट गराएको आरोपमा दुई पक्राउ

  
  प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       | 120 Views   ||

सदरलाइनडटकम,
जनकपुरधाम : धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अहिले पक्राउ पर्नेहरुको पहिचान भने खुलाएको छैन । बम विस्फोट गराएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए ।
पक्राउ परेकामध्ये एकजना महेन्द्रनगरकै भएको र विप्लव समूहसँग आबद्ध रहेको स्रोतको दाबी छ । मृतकमध्येका राजेश्वर साह औषधि व्यावसायी रहेको र रकमसमेत लगानी गर्दै आएका थिए । पक्राउ परेका एक व्यक्ति पनि मृतक साहसँग रकम लिएको र ऋण तीर्न मृतक साहले पटकपटक दबाब दिँदै आएको श्रोतले जनाएको छ ।
सोही कारण विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको श्रोतको भनाई छ । विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, राजेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ । घटनामा घाइते साहकै तीन आफन्तको धरानमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६     4:01:07 PM  |