बर्दियामा ‘बम’ डिस्पोज गर्दा चरेश भेटियो

२८ मंसिर २०७६, शनिबार १५:५५
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिवार बिहान भेटिएको शंकास्पद बस्तु चरेश रहेको खुलासा भएको छ । ठाकुरबाबा नगरपालिका–२ सिँहवाहिनी क्याम्पस नजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । तर शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा चरेश भएको खुलासा भएको हो ।
शंकास्पद झोलाभित्र झण्डै ११ किलो चरेश फेला परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए । सुरक्षाको दृष्टिकोणले बिहान साढे ९ बजेदेखि मध्यान्न १२ बजेसम्म राजमार्गमा गुड्ने यातायातका साधनमा रोक लगाइएको बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।



हिँडडुल गर्नेलाई भने सडकदेखि तलतिरबाट आवतजावत गर्न दिइएको थियो । सदरमुकाम गुलरियाबाट बिहान ११ बजेतिर पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गर्न तयारी गर्दा झोलाभित्र चरेश फेला पारेको हो । दिउँसो सवा १२ बजेपछि यातायात सञ्चालन भएको छ ।
शनिवार बिहान भुरीगाउँको रानीपुर चोकमा ट्राफिक प्रहरीले नियमित चेक गरिरहेको थियो । प्रहरीले चेक गरिरहेको थाहा पाएपछि चरेशसहितको झोला राजमार्ग किनारमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Next Post

धनुषामा बम विस्फोट गराएको आरोपमा दुई पक्राउ

२८ मंसिर २०७६, शनिबार १५:५५
सदरलाइनडटकम, जनकपुरधाम : धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अहिले पक्राउ पर्नेहरुको पहिचान भने खुलाएको छैन । बम विस्फोट गराएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए । पक्राउ परेकामध्ये एकजना महेन्द्रनगरकै भएको र विप्लव […]

सम्बन्धित