तराईमा वर्षा, हिमाली र पहाडी क्षेत्रमा हिमपात

२७ मंसिर २०७६, शुक्रबार १७:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसममा शनिवारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले शनिवारदेखि मुलुकभरि मौसममा सुधार आउने बताए ।
अबको दुई दिनसम्म पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भएको छ । विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका विभिन्न स्थानमा सतर्कता अपनाउन मौसमविद्हरुले सबैसँग आग्रह गरेका छन् ।
पश्चिमी वायुको प्रभाव तथा मौसमी प्रभावका कारणनै अहिलेको मौसममा परिवर्तन देखिएको बताउँदै उनले शुक्रवार दिउँसोसम्म मुुलुकभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिए । त्यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात परेको महाशाखाले जनाएको छ ।
त्यसैगरी शुक्रवार राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै स्थानका साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


जनजीवन प्रभावित
हिमपातका कारण हुम्लाको एक मात्र हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट हुने सबै उडान स्थगित भएको सिमकोट विमानस्थलले जनाएको छ । हिमपात नभएको भए तारा, सीता र समिट एयरका जहाजले आधा दर्जनभन्दा बढी उडान भर्ने तालिका रहेको विमानस्थलले जनाएको छ । हिमपातका कारण सरकारी तथा गैससका कार्यालयमा सेवाग्राहीको उपस्थिति कमी आएको छ ।
अरू बेला सेवाग्राहीको बाक्लो उपस्थिति हुने सिमकोट गाउँपालिकामा बिहीबार थोरै सेवाग्राहीको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । त्यसैगरी मालपोत, जिल्ला प्रशासन कार्यालय, कृषि, पशु, बैङ्कजस्ता कार्यालयमा पनि सेवाग्राहीको उपस्थिति कमी थियो ।
नाम्खा गाउँपालिकाको वडा ६ को हिमालपारिको गाउँ लिमी जाने दुईवटै नाका यारी र न्यालु लेक हिमपातपछि बन्द भएका छन् । तत्काल सो ठाउँमा जान सकिने अवस्था छैन । त्यसैगरी नाम्खाकै चालामा जाने बाटो बन्द भएको छ ।

Next Post

आदर्श माविमा विद्यार्थीको प्रदर्शनी

२७ मंसिर २०७६, शुक्रबार १७:००
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित आदर्श माविमा विद्यार्थीद्वारा निर्मित सामग्रीको शुक्रवार विशेष प्रदर्शनी गरिएको छ । हरेक वर्षझैं यसवर्ष पनि चित्रकला, हस्तकला र विज्ञान कला प्रदर्शनी गरिएको हो । पढाईका अलावा विद्यार्थीहरुको अतिरिक्त प्रतिभाको प्रस्फुटन र विकासका लागि विद्यालयले हरेक बर्ष प्रदर्शनी गर्दै आएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय […]