स्रोत नखुलेको ठूलो रकमसहित दुई पक्राउ

  
  प्रकाशित मितिः बुधबार, मंसिर २५, २०७६       | 316 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलबाट बुधवार स्रोत नखुलेको १३ लाख रकमसहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलका ४६ वर्षीय बिनोद कुमार सोनी र सोही ठाँउका १८ वर्षीय सौरभ सोनी रहेको जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा फाँटका ईञ्चार्ज प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए । सिमावर्ती वजार रुपइडिहाबाट फर्किरहेका उनिहरुको शंकास्पद गतिविधिलाई नियालिरहेको क्षेत्रिय अनुसन्धान ब्यूरोको टोली र जिल्ला प्रहरीको टोलीले संयुक्त रुपमा पक्राउ गरेको हो ।
प्रहरीलाई देख्ने बित्तिकै उनिहरुले ३ लाख रुपैयाँ फालेर भाग्ने प्रयास गरेको प्रहरी निरीक्षक मल्लले बताए । बिनोदलाई खानतलासी गर्ने क्रममा नगद ४ लाख र सौरभको साथबाट ६ लाख रकम बरामद गरेको प्रहरीले सडममा फालिएको ३ लाख नगदसमेत गरी जम्मा १३ लाख रकम बरामद गरेको हो ।
बरामद रकम र पक्राउ परेका दुबैलाई आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक मल्लले बताए ।

प्रकाशित मितिः बुधबार, मंसिर २५, २०७६     5:56:40 PM  |