शैक्षिक समाग्रीको अधिक प्रयोगबाट पठनकार्यमा सुधार ल्याउन सुझाव

  
  प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६       | 120 Views   ||

रुद्र सुवेदी

नेपालगञ्ज : प्राथमिक तहका बालबालिकाको पढाई अवस्था उकास्नको लागि शैक्षिक सामग्रीको भरपुर प्रयोगका साथै निरन्तर कक्षा अनुगमन गर्दा सुधार ल्याउन सकिने एक कार्यक्रमका सहभागीले सुझाव दिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई बाँकेको आयोजनामा सम्पन्न राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम कार्यान्वयन प्रभाव र निरन्तरता विषयक अन्तरक्रियाका सहभागिले सो सुझाव दिएका हुन ।
चार दिनसम्म सञ्चालन भएको सो अन्तरक्रियामा बाँकेका ८ वटै पालिकाका शिक्षा शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, कक्षा १–३ पढाउने शिक्षक, प्रशिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, कार्यक्रमको जिल्ला कार्यदल लगायतको सहभागिता रहेको थियो ।
कक्षा १–३ का बालबालिकाको पठनसिप सुधारको लागि बाँके लागयत देशभरका १६ जिल्लाका सामुदायिक विद्यालय, गुम्बा, गुरुकुल र मदरसामा यो कार्यक्रम लागु भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम बाँकेका फोकलपर्शन तथा नेपालगन्ज उपमहानगरका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।
उनले कार्यक्रम प्रदेश ५ का बाँके, बर्दिया, दाङ्ग र रुपन्देहीका सामुदायिक विद्यालय, गुम्बा, गुरुकुल र मदरसामा २०७३ सालदेखि कार्यक्रम सचालनमा रहेको कार्यक्रममा बाँकेका ३६ हजार बालबालिका सहित ९ लाख १ हजार बाबालिका लाभान्वीत हुन सकेको बताए । यो वर्ष मात्रै १६ वटै जिल्लाका ३ लाख ४ हजार बालवालिका कार्यक्रमसंग जोडिएर आफ्नो पढाईको स्तर बृद्धि गरेकोे उनले दाबी गरे ।
उनले भने–‘कार्यक्रम लागू हुनु पूर्व कक्षा १–३ का बालबालिकालाई पढ्न र उच्चारणमा समस्या थियो भने अहिले त्यो समस्या हटेर गएको छ । उनीहरु आफुले पढ्ने पुस्तक मात्र नभएर अन्य पुस्तक सजिलै पढ्न सक्ने भएका छन् ।’ उनले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका कारण बालबालिकाको सिकाई उपलब्धीमा उल्लेख्य सुधार भएको बताए ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका बाँके जिल्ला संयोजक उपेन्द्र भण्डारीले कार्यक्रम सुरु हुँदा १६ जिल्लाका कक्षा १–३ का बालबालिकाको पठन गति शुन्य दशमलभ ९ रहेको र कार्यक्रमको मध्यावधी सर्भेक्षण हुँदा ३ दशलभ १४ पाईएको बताए । कार्यक्रमको लक्ष ४ पुराउने रहेको उनले जानकारी दिए ।
ज्ञानोदय नमुना मावि खजुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले समग्र विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याएको दाबी गरे । उनले यस कार्यक्रमका कारण विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावकका बीचमा निरन्तर समन्वय तथा अनुगमन र मुल्याङ्कन हुने हुँदा समग्र विद्यालयको शैक्षिक अवस्था मै सुधार आएको आफ्नो अनुभव सुनाए ।
सो अवसरमा बाँकेका विभिन्न विद्यालय मदरसाहरुमा कक्षाको अवलोकन, अनुगमन गरी उनीहरुको अवस्थाको बारेमा सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा सामुदायिक विद्यालय, गुम्बा, गुरुकुल र मदरसाका शिक्षकलाई पेशागत तालिम, शिक्षण सिकाई सामग्री सन्दर्भ पुस्तिका र छनौटमा परेका विद्यालयलाई विद्यालय व्यवस्थापन अनुदान एसएमसी ग्राण्ड बापत २ लाख उपलब्ध गराईएको छ । सो अनुदान उनीहरुको पढाई स्तर बढाउनको लागि खर्च गरिने बताईएको छ । राजधानी दैनिकबाट

प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६     10:35:51 AM  |