कोहलपुरमा शान्तिपूर्वक मतदान जारी

  
  प्रकाशित मितिः शनिबार, मंसिर १४, २०७६       | 137 Views   ||

सदरलाइनडटकम,
कोहलपुर (बाँके)  :  बाँकेको कोहलपुर–६ मा वडाध्यक्ष पदका लागि भएको  मतदानमा  दिउसो ३ बजेसम्म ७०.७७ प्रतिशत मत खसेको  छ । सो वडामा २०२६ मतदाता रहेको कोहलपुर नगरपालिकाको वडा नं. ६ मा वडाध्यक्षका लागि मतदान भइरहेको हो ।
कडा सुरक्षा घेरामा मतदान भइरहेको छ । जिल्लामा एक ठाउँमा मात्रै मतदान भएकाले सुरक्षाकर्मी कोहलपुरमा सोहरिएका छन् ।
कांग्रेसका रामसोहन थारुले ४२४ मत ल्याएर जितेको यो ठाउँमा उनको असामयीक निधन भएपछि मतदान भएको हो । थारुको २०७५ मंसिर ९ गते मृत्यु भएको थियो । अहिले वडाध्यक्षका लागि नेकपा, कांग्रेस र राप्रपाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन वटै पार्टीले ‘प्रतिष्ठा’को लडाईँ मानिरहेका छन् ।
नेकपाबाट रामशरण थारु र कांग्रेसबाट कृष्ण थारुले प्रतिस्पर्धा गरिरहेका छन् भने राप्रपाबाट श्रीधर सुवेदी चुनावी मैदानमा छन् । थारु बाहुल्य रहेको यो ठाउँबाट तीनमध्ये कसले ‘बाजी’ मार्छन् त्यो भोलिसम्म बाहिर आउनेछ । कांग्रेसले आफ्नो बिरासत मानेको यो ठाउँमा एमाले र माओवादी केन्द्र मिलेपछि पहिलो पटक स्थानीय निकायमा चुनाव लडेकाले आफूहरु बलियो रहेको नेकपाको दावी छ ।

फोटो : काँचुलीखबरबाट

प्रकाशित मितिः शनिबार, मंसिर १४, २०७६     3:48:32 PM  |