नेपालगञ्ज म्याराथनमा आर्मीको बर्चस्व

  
  प्रकाशित मितिः शनिबार, मंसिर ७, २०७६       | 323 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज म्याराथनमा नेपाल आर्मीका नवराज साउदले बाजी मारेका छन् । आर्मीकै खगेन्द्र भाटलाई १६ सेकेन्डले पछि पार्दै साउदले नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन् । साउदले २ घण्टा २५ मिनेट ४२ सेकेन्डमा दौड पूरा गरेका थिए । खगेन्द्रले भने २ घण्टा २५ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरे ।
नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणमा आइपुग्दा नेपाल आर्मीकै धावकले वर्चस्व जमाएका छन् । पहिलो संस्करणमा आर्मीका होमलाल श्रेष्ठ, दोस्रोमा आर्मीकै कृष्ण बस्नेत प्रथम भएका थिए । तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल प्रहरीका भूमिराज राई प्रथम भएका थिए । प्रथमले ६५ हजार, द्वितीयले ३५ हजार, तृतीयले २५ हजार, चौथोले १५ हजार, पाँचौँले १० हजार, छैठौँले ८ हजार, सातौँले ६ हजार र आठौँ हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
महिला हाफ म्याराथन पनि आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले जितिन् । जुम्लाकी राममाया बुढाले कडा टक्कर दिए पनि ३७ सेकेन्डले पछि परिन् । आर्मीकी न्यौपानेले एक घण्टा ३० मिनेट २१ सेकेन्डमा हाफ म्याराथन (२१ किलोमिटर) पूरा गर्दा जुम्लाकी बुढाले एक घण्टा ३० मिनेट ५८ सेकेन्ड लगाइन् । तेस्रो भएकी सशस्त्र प्रहरीकी कृष्णेश्वरी सिम्कलाले एक घण्टा ३३ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरिन् । हाफ म्याराथनतर्फ प्रथमले ३५ हजार, द्वितियले २० हजार, तृतियले १० हजार, चौथोले ८ हजार, पाँचौँले ६ हजार र छैठौले पाँच हजार रुपैयाँ पुरस्कार पाए ।
खुल्ला १० किलोमिटर (पुरुष)मा अजितकुमार यादव प्रथम, रामजी बस्नेत द्वितिय र सन्तोषविक्रम विष्ट तृतिय भए । उनीहरुले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाए । पाँच किलोमिटर (छात्रा) मा काजल विष्ट, जुनेली सुनार र कल्पना थारु क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । ५ किलोमिटर (छात्र) मा केसर मास्के प्रथम, हेमन्त विक द्वितीय र कमल विक तृतीय भएका छन् ।
किड्स रनमा सीमा चौधरी प्रथम, पूर्णिमा खड्का द्वितीय र हरिमाया गुरुङ तृतीय भए । २ किलोमिटर कर्पोरेटमा केशव बिसी प्रथम, अरुण गौतम द्वितीय र डा. सन्दीप गुरुङ तृतीय भएका छन् । त्यस्तै, ट्राइसाइकलमा यज्ञबहादुर खत्री प्रथम, सेवकराम थारु द्वितीय र शेरबहादुर शाही तृतीय भएका छन् ।
यसअघि म्याराथनको पर्यटन मन्त्री योगेश भट्टराईले सिटी फुकेर दौडको शुरुवात गरेका थिए । नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, राखेपका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपमहासचिव पितम्बर तिमिल्सेना, एलथेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, दुगड ग्रुपका प्रदीप छाजेडलगायतले म्याराथनको शुभकामना दिएका थिए ।
म्याराथनको पाँचौं संस्करणमा शनिवार २७ सय जना सहभागी भएको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, मंसिर ७, २०७६     4:37:57 PM  |