नेपालगञ्ज म्याराथनसंग धारा, अर्शिवाद र राष्ट्रिय बाणिज्य बैंक जोडिए

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६       | 129 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज   : सामाजिक सद्भावको शहरलाई खेलकुदको शहर बनाउने उदेश्यले सुरुवात गरिएको नेपालगञ्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी मंसिर ७ गते पाँचौ संस्करण नेपालगञ्जमा हुने छ ।
आयोजक क्रियटिभ ह्याण्ड्सका अनुसार सो म्याराथनलाई अब ‘धारा नेपालगञ्ज म्याराथन’ को नामले धारा तोरीको तेलसंग हातेमालो गर्दै आर्शिवाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंकले पनि साथ दिने भएका हुन ।
विगत चार बर्षदेखि निरन्तर हुँददै आएको सो म्याराथनलाई यस पटकदेखि आगामी दुईवर्षका लागि धारा तोरीको तेलले मुख्य प्रायोजकका रुपमा सहकार्य गर्ने भएको छ । भने नेपालगञ्ज म्याराथनसंग हातेमालो गर्नको लागि आर्शिवाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक समेत जोडिएको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।
उनले पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहरको रुपमा परिचित रहेको बताउदै सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने उद्देश्य रहेको दाबी गरे ।
उनले कार्यक्रमको बारेमा जानकारी दिदै पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, १० किलोमिटर खुल्ला पुरुष, ५ किलोमिटर, ५ किलोमिटर स्कुल स्तरीय छात्र तथा ३ किलोमिटर छात्रा दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको बताए ।
यस बर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउने छन । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिने छ । अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ । कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिने उनले बताए ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भागलिदै आएका छन् ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । यसपटक सबै विधामा नगद पुरस्कार बृद्धि गरिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६     5:14:40 PM  |