हर्षोल्लासका साथ मनाइयो गुरुनानक जयन्ती

  
  प्रकाशित मितिः मङ्लबार, कार्तिक २६, २०७६       | 120 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : सिख धर्मावलम्बीहरुले मंगलवार बाँकेसहित विश्वभरमा प्रकाशोत्सव अर्थात् गुरुनानक जयन्ती हर्षोल्लासका साथ मनाएका छन् । श्री गुरुनानक देवको ५५०औं जन्मोत्सव मनाइएको हो । जन्मजयन्तीका अवसरमा नेपालगञ्जको बीपी चोकस्थित श्री गुरु नानक सिँह सभा गरुद्वारामा गुरुग्रन्थको पाठसहित कीर्तन भजन गरिएको छ ।
भारतको लुधियाना पजांबबाट आएका धर्मप्रचारक एवं ज्ञानीहरुको समूहले गरुद्वारामा तीन दिनसम्म पाठ गरेका हुन् । प्रकाशोत्सवका दिन मंगलवार गरुद्वारामा प्रसादका साथै भब्य लग्ङर अर्थात् भण्डारा आयोजना गरिएको थियो ।
श्री गुरु नानक सिँह सभा गरुद्वारा नेपालगञ्ज प्रबन्ध समितिको आयोजनामा गरिएको भण्डारामा हाजरौं जनाले प्रसाद ग्रहण गरेको गरुद्वाराका प्रधान राजेन्द्र सिंह सरदारले बताए ।

राष्ट्रपति भण्डारी र मुख्यमन्त्री पोख्रेलद्वारा शुभकामना व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरूनानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सिख धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
जयन्तीका अवसरमा दिएको सन्देशमा राष्ट्रपति भण्डारीले समाजमा शान्ति, सद्भाव, धर्म रक्षा र मानव कल्याणका लागि सबै धर्महरूका बीचमा सद्भाव कायम राख्नका लागि गरेको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरिन् ।

यस्तै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गुरुनानकको जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिएका छन् । मुख्यमन्त्री पोख्रेलले आज एक विज्ञप्ति जारी गरी गुरुनानकको ५५० औं जन्मजयन्तीको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहेका शिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसर दिएको भन्दै उनले धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुँदै जानु समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाउने सन्देशमा उल्लेख गरे ।
काठमाण्डौका विभिन्न स्थानमा रहेका प्राचीन गुरुनानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेको र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ काठमाण्डाका मठ मन्दिरहरूमा रहनु हाम्रा लागि गौरवको विषय भन्दै मुख्यमन्त्री पोख्रेलले गुरुनानक र सिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिहरूको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य दुवै भएको उल्लेख गरेका छन् ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २६, २०७६     5:41:03 PM  |