अतिक्रमित भु–भागबारे भारतद्वारा वार्ताको प्रस्ताव

  
  प्रकाशित मितिः सोमवार, कार्तिक २५, २०७६       | 136 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरेर नक्सा जारी गरेको भारतीय पक्ष वार्तामा बस्न तयार भएको सन्देश पठाएको छ । ६० हजार हेक्टर भन्दा ठूलो नेपाली भूमि हडपेको भारतीय पक्षले विदेश मन्त्रालयमार्फत् आफूहरु वार्तामा बस्न तयार रहेको जानकारी नेपाललाई दिएको हो ।
सोमवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बोल्दै भूमि सुधार मन्त्री पद्या अर्यालले यसबारेमा जानकारी दिएकी हुन् । भारतबाट सकारात्मक सन्देश प्राप्त भएको बताउँदै मन्त्री अर्यालले अहिलेसम्म परराष्ट्रमन्त्रालयको सचिवस्तरीय संयन्त्रले काम गरिरहेको जानकारी दिइन् ।
‘भारतको विदेशमन्त्रालयका सचिव विजय गोख्लेबाट यसबारेमा छलफल गरौँ भन्ने जानकारी दिएको छ,’ उनले भनिन, ‘सरकारले भारतीय पक्षसँग यसबारे संवाद अघि बढाउने काम थालिसकेको छ ।’

भारतको स्वीकारोक्ति
मन्त्री अर्यालले बैठकमा बोल्दै वि.सं. २०२५ साल भन्दा पूर्व भारतकै सहयोगमा बनेका नक्सामा यी तीनै भूभाग नेपालतर्फ नै रहेको जानकारी दिएकी छन् । ‘सन् १८२७ देखि १८५६ सम्मका भारतले नै बनाएका नक्सामासमेत कालापानी र लिपुलेक समावेश गरेको तथ्य छन’, उनले भनिन, ‘सन् १८६५ मा भारतकै तर्फबाट प्रकाशित भएको थियो ।
कालापानी भारतले नै आफ्नोतर्फ पारेर नक्सा प्रकाशित गरेको हो । यो विवाद अझै समाधान हुन नसकेको हो । अझै पनि भारत प्रष्ट हुन नसकेको हो ।’ कालापानी, लिपुलेक, र लिम्पियाधुरा नेपालका हुन् भन्ने कुरामा कुनै शंका नरहेको उनले बताइन् ।
‘लिम्पियाधुराबाट बग्ने काली नदी नै सीमाना हो । नक्कली नक्सा बनाएर कालापानी भारतमा गाभ्ने प्रयास भएको हो’, अर्यालले थपिन, ‘हामीलाई एक इन्च पनि विदेशी भूमि चाहिँदैन, हाम्रो भूमि पनि दिँदैनौँ ।’

प्रकाशित मितिः सोमवार, कार्तिक २५, २०७६     2:52:46 PM  |