बाघको आक्रमणमा परेर महिलाको मृत्यु

२४ कार्तिक २०७६, आईतवार १९:१५
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : दाउरा लिन जंगल गएकी एक महिलाको बाँकेमा पाटेबाघको आक्रमणमा परेर ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार सो घटनामा परी कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षिया काली बस्नेतको पाटेबाघको आक्रमणमा परेर ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार आइतबार अपरान्ह ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई पाटेबाघले आक्रमण गरेको थियो ।
दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटेबाघको आक्रमण परेर मृत भेटिएको स्थानीयबासीले भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।
पछिल्लो समय बाँके र बर्दिया जिल्लामा पाटेबाघको आक्रमण बढेको छ । यसअघि २०७५ माघ यता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा चार जनाको मृत्यु भइसकेको छ ।
बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ ।
बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघको संरक्षणको लागि स्थापना गरिएको सबैभन्दा कान्छो निकुञ्ज हो । पछिल्लो तथ्याङ्क अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बयस्क बाघ रहेका छन् ।

Next Post

प्रदेशको विकासमा सहकार्यको लागि नेपाल टेलिभिजनसंग सम्झौता

२४ कार्तिक २०७६, आईतवार १९:१५
सदरलाइनडटकम, बुटवल :  प्रदेश नम्बर ५ का आर्थिक, राजनीतिक, विकास निर्माण, सांस्कृतिक लगाएतका गतिविधिलाई टेलिभिजनका माध्यमबाट प्रसारण गर्ने उदे्श्यका साथ प्रदेश नम्बर ५ र नेपाल टेलिभिजनबीच टेलिभिजन कार्यक्रमहरु निर्माण तथा प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ । प्रदेश नम्बर ५ को कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ५ का आन्तरिक […]