नेपालगञ्जमा सोमबारदेखि आन्दोलन चर्काउदै तरुण दल

  
  प्रकाशित मितिः शनिबार, कार्तिक २३, २०७६       | 356 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद किशोरसिंह राठौरले बाँके प्रहरीलाई ठूला पाखुरा देख्ने बित्तिकै गुण्डै हो भन्ने सोचाई त्याग्न चेतावनी दिएका छन् ।
उनले बाँके प्रहरीले नेकपाको निर्देशनमा आफ्ना कार्यकर्तालाई जानी जान अनाहकमा फसाएको दाबी गर्दै भने–‘ठूला हात पाखुरा हुने वित्तिकै गुण्डाको उपमा दिदै बाँके प्रहरीले हाम्रा तरुण कार्यकर्तामाथि ज्यादती गरेको छ । त्यसको प्रतिउत्तर हामी सशक्त आन्दोलनबाट दिनेछौ ।’
तरुणदल बाँकेले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस केन्द्रीय सदस्य राठौरले सत्तारुढ दलको ज्यादतीका बिरुद्ध सोमबारदेखि तरुणदलको सशक्त आन्दोलन सुरु हुने बताए ।
सोमबारदेखि सुरु हुने आन्दोलन सन्दीपजंग शाहसंग मात्र जोडिएको नभई समग्र काँग्रेस पार्टी माथि राज्य सत्ताले गरेको उपेक्षाको बिरुद्धको आन्दोलन भएको स्पष्ट पारे । नेपाल तरुण दलले राज्यसत्ताको ज्यादतीबिरुद्ध नेपालगञ्जबाट आन्दोलन चर्काउने जनाएको छ ।
बाँके प्रहरीले तरुणदल नेपालगञ्ज नगर कमिटिका सभापती सन्दीप जंग शाहले हतियार राखेको आरोपमा पक्राउ गरेको बिषयलाई लिएर आगामी सोमबारदेखि आन्दोलन गर्ने भएको हो ।
तरुण दल बाँकेले पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । गत कार्तिक १४ गते सन्दीपलाई अबैध हतियारसहित प्रहरीले पक्राउ गरेदेखि नै बाँके तरुणदलले सन्दीपलाई फसाएको भन्दै बिभिन्न बिरोध गर्दै आएको छ ।
नेपाल तरुणदलका केन्द्रिय सभापति जीतजंग बस्नेतले नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला माथि हातपातको घटनादेखि तरुण दल नगर सभापति शाहको घट्नासम्म जनतालाई सुरक्षाको प्रत्याभूति दिने प्रहरीले नै असहयोग गरेको दाबी गर्दै भने–‘ सुरक्षा दिने प्रहरी नै सत्तारुढ दलको भातृसंगठन जस्तो व्यवहार गर्दै हाम्रा कार्यकर्ता फसाउने खेलमा लागेको छ । हाम्रा कार्यकर्ताको सुरक्षा तथा प्रहरीको नेतृत्व परिवर्तनको लागि हाम्रो आन्दोलन हो ।’ कार्यक्रममा बोल्दै सभापति बस्नेतले बाँके प्रहरी नेपाल कम्यूनिष्ट पार्टीको भातृसंगठनको रुपमा कार्य गर्दै आएको आरोप लगाए । काँग्रेस माथि भैरहेको ज्याद्तीको बिरोधमा आन्दोलन गर्नुको बिकल्प नरहेको बताउदै सभापति बस्नेतले आगामी सोमबारदेखि हुने आन्दोलनलाई सघाउन आफू नेपालगन्ज आएको बताए ।

प्रकाशित मितिः शनिबार, कार्तिक २३, २०७६     6:20:05 PM  |